| सोमवार, कार्तिक २३, २०८३

चुनावका मुखमा मात्र रबर उद्योग, एयरपोर्ट र बूढीगण्डकीका बहश

जबजब निर्वाचनको सुगन्ध फैलिन थाल्छ, फेरि पुराना, धुलो लागेका, झुत्रा फाइलहरू बाहिर निस्कन थाल्छन् । २०७२ सालदेखि सुनसान रहेको गोरखकाली रबर उद्योगको मेसिनरी घर्षणको आवाज होस् वा लामो समयदेखि मुआब्जा र मोडालिटीमै अल्झिएको १२०० मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना अर्थात पालुङटार एयरपोर्ट पुनसंचालनका बहस पुन ताजा भएर उठेका छन् ।

अब सर्वसाधारण नागरिक पनि अभ्यस्त भइसकेका छन् कि, यी सबै चुनावी बहसका मसला मात्र हुन् । विडम्बना के छ भने, यी विषयहरू नयाँ होइनन् । २०७४ र २०७९ का स्थानीय, प्रदेश सभा तथा प्रतिनिधि सभाका निर्वाचनमा पनि यिनै सपना बाँडेर भोट सोहोरिएको थियो । तर, चुनाव सकिएपछि यी राष्ट्रिय गौरवका आयोजना र आर्थिक धरोहरहरू फेरि ओझेलमा पर्ने नियति दोहोरिँदै आएको छ ।

गोरखकाली रबर उद्योग केवल एउटा कारखाना मात्र होइन, यो नेपालको औद्योगिक क्षमताको एउटा प्रतीक पनि हो । हजारौँलाई प्रत्यक्ष रोजगारी दिन सक्ने र टायरमा देशलाई आत्मनिर्भर बनाउन सक्ने यो धरोहर एक दशकदेखि कवाडीमा परिणत भइरहँदा राज्य सञ्चालकहरू मौन बस्नु र चुनावमा मात्रै यसको ‘पुनर्जीवन’ को गीत गाउनु मतदातामाथिको ठूलो अपमान हो । त्यस्तै, पालुङ्टार एयरपोर्टको घाँसे मैदानमा जहाज ओराल्ने आश्वासनले कति पटक चुनाव जितियो होला, तर त्यहाँको रनवेमा अझै पनि जहाज होइन, गाईवस्तु चरिरहेका छन् ।

नेपालको विकासको ‘गेम चेन्जर’ मानिएका यस्ता धरोहरलाई चुनावी मसला मात्र बनाउनु बिडम्बना हो । ठूला वा वैकल्पिक राजनीतिक दल र नेताहरूका लागि यी आयोजना राष्ट्र निर्माणको माध्यमभन्दा पनि चुनावी घोषणापत्र सजाउने माध्यम मात्र बनेको देखिन्छ । हरेक पटक भोट माग्न जाँदा ‘काम सुरु भइसक्यो’ भन्ने र चुनाव जितेपछि ‘प्राविधिक समस्या छ’ भन्दै पन्छिने प्रवृत्तिले जनतामा निराशा मात्र होइन, व्यवस्थाप्रति नै वितृष्णा पैदा गरिरहेको छ ।

अब प्रश्न गर्नुपर्छ कि, निर्वाचनकै मुखमा मात्र किन यी उद्योग र आयोजनाको विषय आउँछ ? के विकास केवल चुनावी कार्ड मात्रै हो ? अहिलेका सचेत मतदाताले बुझ्न जरुरी छ कि, विकासका एजेन्डा ‘मौसमी’ हुनुहुँदैन । देशको आर्थिक जग बलियो बनाउने गोरखकाली जस्ता उद्योग र बूढीगण्डकी जस्ता ऊर्जाका स्रोतहरूलाई दलीय स्वार्थ र चुनावी गणितभन्दा माथि राखेर हेरिनुपर्छ । अबको आवश्यकता खोक्रो आश्वासन होइन, बरु स्पष्ट कार्यतालिका र इमानदार कार्यान्वयनको हो ।

प्रतिक्रिया दिनुहोस्