
‘ब्ल्याक स्पट’ क्षेत्र पहिचान गर्दै ट्राफिक प्रहरी
सवारी दुर्घटना बढी हुने क्षेत्रलाई ‘ब्ल्याक स्पट’ को रुपमा पहिचान गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले चेतावनीमूलक बोर्ड राख्न सुरु गरेको छ । शनिवार गोरखा–आँवुखैरेनी सडकखण्डको ठिँगुरेस्वाँरास्थित नाम्जालीडाँडा, बिरेन्चोक र गोरखा–आरुघाट सडखण्डकको फिनाममा चेतावनीमूलक बोर्ड राखिएको कार्यालयले जनाएको छ ।
‘तीन बर्षको अवधिमा मृत्यु वा गम्भिर घाइते हुने गरी कम्तिमा पाँच वटा दुर्घटना भएमा क्षेत्रलाई ब्ल्याक स्पटको रुपमा पहिचान गर्छाै,’ जिल्ला ट्राफिक इन्चार्ज सुरज अर्यालले भने, ‘अनि ब्ल्याक स्पटको संकेतसहित चेतावनीमूलक बोर्ड राख्छौ ।’ सोही अन्तरगत शनिवार तीन वटा ठाउँमा बोर्ड राखिएको उनले जानकारी दिए । दुर्घटना न्यूनिकरण गर्ने उदेश्यसहित सो अभियान थालिएको उनको भनाइ छ ।
तिव्र गतिका कारण हुने सवारी दुर्घटना न्यूनिकरणका लागि गति नियन्त्रण बोर्ड समेत राखिएको उनले बताए । ‘टक्सारदेखि बिरेन्चोकको ओरालो क्षेत्र र फिनामको एसघुम्तिमा गति सिमिति लेखिएको बोर्ड पनि राखेका छौ, त्यहाँ लेखिएकोभन्दा बढी गतिमा सवारी चलाए कारवाही गर्छाै,’ उनले भने ।
बिरेन्चोक क्षेत्रमा प्रति घण्टा ४० किमि र फिनाम क्षेत्रमा ३० किमिभन्दा बढी गतिमा सवारी चलाउन नपाइने भनी बोर्ड उल्लेख गरिएको अर्यालले जानकारी गराए । दुर्घटना जोखिम क्षेत्रलाई मध्यनजर गर्दै उक्त गति निर्धारण गरिएको उनले बताए ।




