| आइतवार, जेष्ठ १६, २०८३

बाबुराम ब्याक भएसँगै गोरखामा प्रलोपाको उम्मेदवार खाली

आसन्न प्रतिनिधि सभा निर्वाचनमा डा. बाबुराम भट्टराई आवद्ध प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को प्रत्यक्षतर्फ गोरखामा कुनै उम्मेदवार छैनन् । दर्ता गरेको मनोनयन फिर्ता लिएपछि दुवै निर्वाचन क्षेत्र उम्मेदवारविहीन छन् ।

गोरखा–२ बाट भट्टराई स्वयमले उम्मेदवारी दिएका थिए भने १ बाट गोपालबाबु श्रेष्ठको उम्मेदवारी परेको थियो । तर पछिल्लो समय दुवैले उम्मेदवारी फिर्ता लिए । उम्मेदवार नभएपछि प्रत्यक्षतर्फ प्रलोपाले कसलाई सहयोग गर्ला ? भन्ने आमचासोको बिषय बनेको छ । अझ बिशेष गरी गोरखा–२ जहाँ प्रलोपाको साथ चुनाव हारजीतको प्रमुख कारण समेत बन्न सक्छ ।

उम्मेदवारी फिर्ता लिएका डा. भट्टराईले अबको समर्थन कसलाई ? भन्नेबारे प्रष्ट धारणा राखेनन् । आफूहरुलाई समर्थन गर्दै भट्टराईले उम्मेदवारी फिर्ता लिएको भन्दै सामाजिक सञ्जालमा पोष्ट्याउन अन्य दलहरुबीच होडबाजी चल्यो । हचुवाको भरमा पार्टीपिच्छे समर्थनको प्रचारबाजी हुन थालेपछि प्रलोपले बिज्ञप्ती नै जारी गर्नुप¥यो । बिज्ञप्ती जारी गर्दै प्रत्यक्षतर्फ हालसम्म कुनै उम्मेदवारलाई समर्थन गर्ने निर्णय नभएको पार्टीले जानकारी गरायो । उपयुक्त उम्मेदवारलाई सहयोग गर्ने गरी पार्टीबाट निर्णय हुने समेत बिज्ञप्तीमा उल्लेख भयो ।

सहयोगका लागि अन्य राजनीतिक दलबाट प्रेसर आउन थालेको पार्टी जिल्ला इन्चार्ज यानप्रसाद भट्ट बताउँछन् । ‘आफ्नो उम्मेदवार नभएपछि कसैलाई जिताउनु पनि छैन हराउनु पनि छैन,’ उनले भने, ‘कसैसँग नजिक कसैसँग टाढा हुदैनौ, सबैलाई समान व्यवहार गर्छाै ।’ हाल कसैलाई सहयोग नगर्ने पार्टीको अडान रहेपनि आगामी परिस्थिती र घटनाक्रम अनुसार निर्णय गरिने उनले जानकारी दिए ।

दलहरुसँग छलफलका लागि प्रलोपा जिल्ला समन्वय समिति गोरखाले भट्ट नेतृत्वको तीन सदस्यीय राजनीतिक संवाद समिति गठन गरेको छ । मत दिने क्रममा पार्टीको साझा धारणा बनाउनका लागि पनि समिति गठन गरिएको बताइएको छ । ‘प्रत्यक्षतर्फ हाम्रो उम्मेदवार नभएपछि अन्य दलहरुले आफ्नो उम्मेदवारलाई सहयोग गरिदिनुप¥यो भनेर प्रेसर दिएका छन्, त्यही छलफलपनि ‘वान डोर सिस्टम’ बाट होस् भनेर यो समिति गठन भएको हो,’ भट्टले भने ।

रास्वपालाई सहयोगको संकेत गरेको भन्ने भ्रमबाट मुक्त हुन समेत उनले आग्रह गरे । भने, ‘भट्टराई जि ले बिकल्पको रुपमा नयाँ शक्ति आउनुपर्छ भन्नुभएको थियो त्यही भनाईलाई लिएर धेरैले रास्वपालाई समर्थन भनेर अनुमान गरेका हुन् तर त्यस्तो होइन ।’ प्रत्यक्षतर्फ खाली भएपनि समानुपातिक उम्मेदवारलाई मतदान गर्न पार्टीले आग्रह गरेको छ ।

शनिवार दुवै क्षेत्रमा प्रलोपाले निर्वाचन परिचालन समिति गठन समेत गरेको छ । क्षेत्र नम्वर १ मा यानप्रसाद भट्ट र २ मा नारायण खत्रीको संयोजकत्वमा १०१ सदस्यीय समिति गठन भएको हो । भट्ट पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज हुन् भने खत्री जिल्ला संयोजक हुन् ।

प्रतिक्रिया दिनुहोस्