| सोमवार, कार्तिक २३, २०८३

आँखा शिविरमा ४१७ जनाको उपचार, २६ जनाको मोतियाबिन्दुको शल्यक्रिया

भच्चेकमा सम्पन्न दुई दिने निशुल्क आँखा शिविरमा ४१७ जनाले सेवा लिएका छन् । अजिरकोट गाउँपालिका वडा नं ३ भच्चेकमा बिहिबार र शुक्रबार संचालन भएको निशुल्क आँखा शिविरमा २६ जना मोतियाबिन्दुका बिरामीहरुको शल्यक्रिया भएको शिविर आयोजक मुटु फाउन्डेसनका अध्यक्ष धनबहादुर गुरुङले बताए ।

गाउँपालिकाको आयोजना, मुटु फाउन्डेसन तथा मनोज एसोसियसन फ्रान्सको आर्थिक सहयोग तथा हिमालय आँखा अस्पताल पोखरा, रुइत फाउन्डेसन र आइ केयर फाउन्डेसनको प्राविधिक सहयोगमा शिविर संचालन भएको थियो । भच्चेक आधारभुत अस्पतालमा संचालित शिविरमा १६ जना पुरुष तथा १० महिलाको निशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको मुटु फाउन्डेसनका अध्यक्ष गुरुङले जानकारी दिए ।

अधिकांश बृद्धबृद्धाहरुहरुको आँखाको शल्यक्रिया गरिएको गुरुङको भनाइ छ । मुटु फाउन्डेसनले अजिरकोट गाउँपालिकाअन्तरगतका सबै वडाहरुमा आयोजना गरेको मोतियाबिन्दुको स्क्रीनिङ शिविरपछि शल्यक्रिया शिविर आयोजना गरेको थियो । ‘दुईहप्ता अघि पालिकाको सबै वडाहरुमा स्क्रिनिङ शिविर संचालन गरेका थियौ,’ फाउन्डेसनका अध्यक्ष गुरुङले भने, ‘त्यसबेला मोतियाविन्दु देखिएकाहरुको अहिले शल्यक्रिया गरेका हौँ ।’ शिविरमा बिरामीहरुलाई निशुल्क रुपमा औषधी तथा चस्मा समेत वितरण गरिएको उनको भनाई छ ।

शिविरमा अजिरकोट गाउँपालिकाअन्तरगतका सबै वडाहरु तथा लमजुङको दुधपोखरी गाउँपालिका स्थानीयले समेत सेवा लिएका छन् । हिमालय आँखा अस्पताल पोखराका वरिष्ठ नेत्र रोग विषेशज्ञ डाक्टर ज्योत्सना शर्मा नेतृत्वको टोलीले शिविरमा सेवा दिएका थिए ।

विकटमा गाउँबस्तीमा मोतियाबिन्दुको समस्या बढ्दै गएपछि मुटु फाउन्डेसन र मनोज एसोसियसन फ्रान्सले विभिन्न संघसंस्थाहरुसँग समन्वय गरेर गोरखा, लमजुङ लगायत हिमाली जिल्लाहरुमा आँखा शिविर संचालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्