| सोमवार, कार्तिक २३, २०८३

बुढेसकालमा फेरि आँखा देख्न पाउँदा बृद्धबृद्धा दङ्ग

प्रतीक्षा आले ।
अजिरकोट–१ घ्याच्चोककी ७४ वर्षकी सुबी गुरुङले आज दुई वर्षपछि पुनः आँखा देख्न सक्ने भइन् । केही वर्षदेखि बायाँ आँखा कम देख्ने उनले दुईवर्ष यता आँखै देख्न छाडेकी थिइन् ।

घ्याच्चोक स्थित घरबाट उनलाई छोरा कान्छा गुरुङले बोकेर अस्पतालसम्म ल्याइपु¥याएका थिए । अस्पतालमा उनी जस्ता अन्य २६ जना मोतियाबिन्दुको बिरामीको सफल शलयक्रिया भयो । शल्यक्रियापछि भोलिपल्ट बिहान सबेरै उनीहरुलाई अस्पतालको छतमा लगियो । बिहानीको न्यायो घाममा सबैको आँखाको पट्टी खोलियो । पट्टी खोल्नेबित्तिकै त सुबी अत्तालिइन् ।

तर स्वास्थ्यकर्मीहरुले उनको आँखामा औषधी राखेर सफा गरिदिएपछि उनलाई कालो चश्मा लगाइदिए । रातो स्वीटर लगाएकी उनी कालो चश्मामा गज्जबको देखिइन् भनेर सबैले जिस्काउन थालेपछि उनी मुसुमुसु हाँस्न थालिन् । बिस्तारै धमिलो धमिलो हुँदै आँखाको ज्योति फर्किएको गुरुङले महसुस् गरिन् । घर जानेबेलासम्म उनी मान्छे चिन्न सक्ने भैसकेकी थिइन् । ‘अँ अहिले बिस्तारै देख्दैगा’को जस्तो भयो है’, उनले छोरासँग भनिन् ।

बोकिएर उपचारमा आएकी उनी पट्टी खोलेकी उनी ठिमठिम हिँडेर घर जान तम्सिइन् । उनी जस्तै आँखाको ज्योति फिर्ता पाएका अन्य बृद्धबृद्धाहरु पनि देखेँ भन्दै घर जान तम्सिए । उनीहरुलाई सम्झाउँदै स्वास्थ्यकर्मीको टोलीले भन्दै थिए, ‘अहिले सबैतिर हेर्न हतार नगर्नु । बिस्तारै आँखा खोल्नुपर्छ । आजभन्दा भोलि, पर्सि राम्रो देखिन्छ ।’ सुबि गुरुङले आफूलाई संसार देखाइदिने डाक्टरतिर हेर्दै र भित्रदेखि नै प्रफुल्ल हुदै दुवै हात जोडेर आफ्नै भाषामा धन्यवाद दिइन् ।

शिविरमा आएका ९१ वर्षका गुणनिधि अधिकारी पनि शल्यक्रियापछि आँखा देख्ने भएँ भन्दै खुसी थिए । उनीभन्दा धेरै खुसी उनको छोरा काजीराम अधिकारी देखिन्थे । अजिरकोट–३ डिहीटारका गुणनिधि अधिकारी शल्यक्रिया पछि आँफै हिड्डुल गर्न सक्ने भएको भन्दै उनको छोराले पनि सन्तोषको सास फेरे ।

‘बुढो मान्छे, त्यही माथि आँखा नदेख्ने भएपछि सारै बिजोग हुने रहेछ’, गुणनिधीका छोरा काजीरामले भने, ‘अब त सबै देखेँ, हिँड्छु भनेको छ । यति भयो भने घरपरिवारलाई धेरै हलुका हुन्छ ।’ शिविरमा अधिकारीसँगै विगत केही वर्षदेखि आँखा नदेखेका सिम्जुङका ६३ वर्षका पूर्णबहादुर तामाङ र मुच्चोकका ६५ का नक्कले तामाङले पनि आँखा देख्न थाले । अब आँखा देखिन्नँ भनेर हरेष खाएका उनीहरु पुनः देख्न सक्ने हुँदा हर्षित भएका छन् ।

अजिरकोट गाउँपालिकाको आयोजना, मुटु फाउन्डेसन तथा मनोज एसोसियसन फ्रान्सको आर्थिक सहयोग तथा हिमालय आँखा अस्पताल पोखरा, रुइत फाउन्डेसन र आइ केयर फाउन्डेसनको प्राविधिक सहयोगमा भच्चेकमा निशुल्क आँखा शिविर संचालन गरिएको थियो ।

शिविरमा अजिरकोट गाउँपालिकाअन्तरगतका सबै वडाहरु तथा लमजुङको दुधपोखरी गाउँपालिका स्थानीय गरी ४१७ जनाले सेवा लिएका छन् । हिमालय आँखा अस्पताल पोखराका वरिष्ठ नेत्र रोग विषेशज्ञ डाक्टर ज्योत्सना शर्मा नेतृत्वको टोलीले शिविरमा सेवा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्