
खोर्लावेशी मेला कि जुवाको अखडा ?
परम्परा र संस्कृति कुनै पनि समाजको जीवन्त पहिचान हो । आधुनिकताको तीव्र लहरमा आज टेलिभिजन, युटुब र सामाजिक सञ्जालले मनोरञ्जनका पुराना माध्यमहरूलाई विस्थापित गरिरहेका बेला गोरखाको धार्चे गाउँपालिकामा अझै पनि तातोपानी मेला, माछाखोला मेला र रेसेमेला जस्ता मौलिक परम्पराहरू जीवित रहनु आफैँमा गौरवको कुरा हो । यी मेलाहरूले हाम्रो पुख्र्यौली इतिहास र सामाजिक सद्भावलाई बोकेका छन्, तर, पछिल्लो समय यी सांस्कृतिक धरोहरहरू मनोरञ्जनका स्थल भन्दा पनि ‘जुवाको अखडा’ बन्दै गएको खबरले गम्भीर चिन्ता पैदा गरेको छ ।
मेला र जात्राहरूमा अहिले लाखौँको हारजित हुने गरी जुवा खेल्ने र खेलाउने प्रवृत्ति फस्टाएको छ । रमाइलोका नाममा सुरु हुने यो खेलले अन्ततः कयौँको घरबार उजाड बनाएको छ, कयौँलाई ऋणको दलदलमा फँसाएको छ र समाजमा झैझगडा तथा कुटपिटका घटनाहरू बढाएको छ । विडम्बना त यो छ कि, ठुलाले खेलेको देखेर नयाँ पुस्ताका छोरा–नातिहरूले समेत यसैलाई ‘संस्कृति’ ठानेर सहजै गलत बाटो अँगालिरहेका छन् ।
यो एउटा यस्तो सामाजिक क्यान्सर हो, जसले समयमै उपचार नपाए सिंगो धार्चेको सामाजिक संरचनालाई ध्वस्त पार्ने निश्चित छ । खोर्लाबेशी मेलामात्र होइन, धार्चेमा हुने प्राय सबै मेलाजात्रा जुवाको अखडा बनिरहेका छन् । यस्तो विकृति अन्त्य गर्न अब ढिला भइसकेको छ । यसका लागि दुईवटा पक्ष सबैभन्दा बढी जिम्मेवार र सक्रिय हुनुपर्छ । पहिलो हो, ‘युवा जागरण’ । समाजका सचेत युवाहरू जुवाको यो जालोविरुद्ध संगठित हुनुपर्छ ।
मेलालाई जुवामुक्त बनाउन, मौलिक खेलकुद र सांस्कृतिक झाँकी, कृषि उपजको व्यापार गर्न र स्वस्थ मनोरञ्जन गर्नमा प्राथमिकता दिन युवाहरूले दबाबमूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ । दोस्रो हो, ‘प्रहरी–प्रशासनको कडाइ’ । कानुनले वर्जित गरेको जुवातास सार्वजनिक मेलाहरूमा खुल्लमखल्ला चल्दा पनि प्रशासनले नियन्त्रण गर्न नसक्नु दुःखद छ ।
प्रहरीले यस्ता गतिविधिमा संलग्नलाई कडा कानुनी दायरामा ल्याउनु पर्छ र मेलालाई सुरक्षा घेराभित्र राखी जुवा नियन्त्रण गर्नुपर्छ । अब धार्चेका खोर्लावेशी लगायतका सबैमेला जात्राहरुलाई जुवामुक्त र सभ्य बनाउन स्थानीय सरकार, युवा क्लब र सुरक्षा निकायको साझा प्रतिबद्धता आजको आवश्यकता हो । संस्कृति जोगाऔँ, तर विकृतिलाई जरैदेखि उखेलौँ ।




