
आँपपिपल अस्पताल व्यवस्थापन समितिका अध्यक्षद्वारा पदभार ग्रहण
आँपपिपल अस्पताल गोरखाको व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष एवं सदस्यहरुले पदभार ग्रहण गरेका छन् । बुधबार अस्पतालमा एक कार्यक्रमका बीच अध्यक्षमा नियुक्त भएकी पार्वती पाठक, र सदस्यद्वय रबिन्द्र देवकोटा र प्रमिला राना मगर गुरुङले पदभार ग्रहण गरेका हुन् ।
गण्डकी प्रदेश सरकारको यही माघ ४ गते बसेको मन्त्रीपरिषद बैठकले प्रदेश स्तरीय अस्पतालमा कांग्रेस र एमाल भागवन्डा गरेर अध्यक्ष र २ जना सदस्य नियुक्त गरेको हो । गत भदौ ३ गते बसेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले नयाँ गठनादेश जारी गर्ने निर्णय गर्दै यसअघिको अस्पताल व्यवस्थापन समिति खारेज गरेको थियो ।
नयाँ गठनादेश ल्याएर गण्डकी सरकारले प्रदेश मातहतका सबै अस्पतालको अध्यक्ष र सदस्य नियुक्त गरेको हो । पदभार ग्रहण पश्चात बोल्दै उनीहरुले बिरामीहरुको गुणस्तरीय सेवा तथा अस्पतालको सेवा प्रवाह चुस्त दुरुस्त राख्दै स्वास्थ्य सेवा वृद्धि बिकास गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे । अस्पताल प्रमुख डा प्रभातसिंह राजपुतको अध्यक्षतामा कार्यक्रम भएको हो ।




