| सोमवार, कार्तिक २३, २०८३

उत्तरी गोरखाका धेरै गाउँबस्ती हिउँले ढाकिए, गुप्सीमा तीनबर्षपछि हिमपात

बुधबार परेको हिउँले उत्तरी गोरखाका धेरै गाउँबस्ती हिउँले ढाकिएका छन् । चुमनुब्री र धार्चे गाउँपालिकाका दुई दर्जनभन्दा धेरै. गाउँबस्ती हिमपातले सेताम्मै भएका स्थानीयबासीको भनाइ छ ।

तिब्बती सीमामा अवस्थित गाउँ चुमनुब्री १ को साम्दो, सामागाउँ, चुमनुब्री ७ को छुले, निले, लार, छेकम्पार लगायतका एक दर्जन गाउँबस्ती, वडा नं. ६ को चुम्चेत, चुम्लिङ, रिब्चेत लगायतका आधा दर्जन गाउँबस्तीहरु बुधबार हिउँले ढाकिएका छन् ।
त्यस्तै वडा नं. २ का ल्हो, स्यो, ल्ही, स्यालालगायतका गाउँहरु, वडा नं. ४ को प्रोक, नाम्रुङ, क्वाक, छाक, प्रोकलगायतका गाउँहरु हिउँले ढाकिएको स्थानीयको भनाइ छ । त्यस्तै धार्चे गाउँपालिकाका वडा नं. ४ लाप्राक(गुप्सीपाखा) र सिङ्ला गाउँ हिउँले ढाकिएका छन् ।

बिहान तीन बजेतिरबाट हिमपात हुन सुरु भएको चुमनुब्री ७ का पूर्व वडाअध्यक्ष पासाङ फुञ्जोले जानकारी दिए ।
‘बिहान तीन बजेदेखि हिउँ पर्न सुरु गरेको हो’, चुमनुब्री ७ का पासाङ फुञ्जोले भने, ‘हिउँ परेपछि गाउँलेहरु सप्पै एकदम खुशी भएका छन् ।’ खेतीपानी राम्रो हुने, धुलो नउँड्ने, हुरीबतास नचल्ने र आगलागीको डर नहुने भन्दै स्थानीय खुशी भएका उनको भनाइ छ ।

‘जोडदार रुपमा हुरी बतास चलेर अचेल घरको अँगेनामा आगो फुक्न पनि नसक्ने अबस्था थियो’, उनले भने, ‘बल्ल हिउँ पर्यो । अब त आगालागीको पनि डर हट्यो । हावा हुरी चलेर धुलो उँडाएर बस्न नसक्ने भएको थियो ।’ धार्चेको गुप्सीपाखा र सिङ्लामा तीनबर्षपछि यसबर्ष हिउँ परेको छ ।

२८०० उचाइमा अवस्थित ती गाउँहरु यो साल हिउँले सेताम्मै भएको स्थानीय मार्सिङ गुरुङ बताउँछन् । हिउँ परेपछि खेतीपाती राम्रो हुने भन्दै उनले खुशी व्यक्त गरे । ‘मंसीरमा लगाएको गहुँ खेतीले अब पानी पाउने भयो । वनको झारलहरुले पनि पानी खान नपाएर आत्ति सकेका थिए । अब पानी खान पाउने भए ।’

अहिलेसम्म करिब एकफिट हिउँ परेको उनले बताए । हिमपात भएपछि गाउँलेहरुको दिनचर्यामा पनि परिवर्तन भएको छ । अहिले सबै जना घरभित्रै आगो तापेर बसेका उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्