| सोमवार, कार्तिक २३, २०८३

आफ्नै नर्सरी संचालन गर्दै भीमसेनथापा गाउँपालिका

जिल्लाको भीमसेनथापा गाउँपालिकाले बिरुवा उत्पादनका लागी नर्सरी स्थापना गर्न लागेको छ । पालिकाबासीको आवश्यकतालाई मध्यनजर गर्दै गाउँपालिका आँफैले नर्सरी स्थापना गर्न लागेको पालिका अध्यक्ष लोकप्रसाद बञ्जराले बताए ।

‘यसअघि बिरुवा लिन सदरमुकाम जानु पथ्र्यो, भनेजति बिरुवा पनि पाइन्न थियो’, उनले भने, ‘हाम्रो पालिकाको हावापानी सुहाउँदो बिरुवा उत्पादन गरेर पालिकाबासीलाई भने जति बिरुवा वितरण गर्ने लक्ष्य छ ।’ पालिकाको वडा नं १ खान्चोकमा नर्सरी स्थापना भैरहेको अध्यक्ष बन्जराको भनाइ छ ।

नर्सरी निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले बताए । उनका अनुसार हाल नर्सरीको लागि आवश्यक पूर्वधार निर्माणको काम भैरहेको छ । पालिकाले नर्सरी स्थापनाका लागि दुई लाख रुपैँया बजेट बिनियोजन गरेको उनले जानकारी दिए । ‘माघभित्र नर्सरीका लागि आवश्यक टनेल निर्माणको काम सम्पन्न हुन्छ, त्यसलगत्तै बिरुवा उत्पादन सुरु गर्छौँ’, उनले भने । नर्सरी संचालनका लागि आफूहरुलाई डिभिजन वन कार्यालय गोरखाले प्राविधिक सहयोग गर्ने अधिकारीले बताएका छन् ।

गाउँपालिकाले संचालन गर्ने नर्सरीमा स्थानीय जातको डालेघाँस, फलफुल, जडिबुटी लगायतको बिरुवाहरु उत्पादन गर्ने पालिकाले जनाएको छ । गोरखा नगरपालिका वडा नं १३ स्थित तीनकिलो नर्सरीमा समग्र जिल्लाको लागि आवश्यक बिरुवा उत्पादन तथा वितरण हुँदै आएको छ । डिभिजन वन कार्यालय गोरखाले जिल्लाको चुमनुब्री गाउँपालिका बाहेकको स्थानीय तहलाई सोही नर्सरीबाट बिरुवा उपलब्ध गराउँदै आएको छ ।

नर्सरीमा गत वर्ष १४ हजार बिरुवा उत्पादन भएको डिभिजन वन कार्यालय गोरखाकी वन अधिकृत साधना क्षेत्रीले बताइन् । उनका अनुसार नर्सरीबाट जिल्लाको विभिन्न क्षेत्रमा पाइने डालेघाँसहरु, जडिबुटी, फुल लगायतका वनस्पतिहरु उत्पादन गरिन्छ । नर्सरीलाई थप व्यवस्थित बनाउँदै उत्पादन बढाउन यस वर्ष गोरखा नगरपालिकाले केही रकम सहयोग गरेको वन अधिकृत साधना क्षेत्रीले बताएकी छिन् । नगरपालिकाले आफ्नो ‘सगरमाथा बृक्षारोपण कार्यक्रम’ अन्तरगत रकम सहयोग गरेको उनले जानकारी दिइन् ।

डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदन मोहन शाण्डिल्यले पालिकाहरुले स्थानीय स्तरमा नै नर्सरी संचालन गरे प्रावधिक सहयोग गर्ने बताएका छन् । ‘हाम्रो नर्सरीमा सिमित बजेट हुन्छ । जसका कारण माग अनुसारको बिरुवा उत्पादन गर्न सकेका छैनौँ’, उनले भने, ‘केही पालिकाले बिरुवाको माग बढेसँगै आफैँ नर्सरी संचालन गर्न लाग्नु भएको छ । वन कार्यालयले त्यसमा प्राविधिक सहयोग गर्दै आएको छ ।’ जिल्लाको भीमसेनथापा र शहिदलखन गाउँपालिकाले स्थानिय स्तरमा नर्सरी संचालनको तयारी सुरु गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्