
शान्तिपूर्ण र भयरहित वातावरणमा चुनाव सम्पन्न होस्
अहिले देश निर्वाचनमा होमिएको छ । मनोनयन दर्ता गरेर भोट माग्न उम्मेदवारहरु घलदैलो अभियानमा तल्लिन भइसके । दलहरुले मनोनयन दर्ताको क्रममा देखाएको एक अर्काप्रतिको हार्दिकताले निषेधको राजनीतिको भय चिरेको छ । शान्तिपूर्ण र निष्पक्ष निर्वाचनका लागि उनीहरु तत्पर छन् भन्ने सन्देश त्यो क्षणले दिलाएको पक्कै छ ।
त्यसो त निर्वाचनमा सहभागी जिल्लाका दलहरुले आचारसंहिता पूर्ण रुपमा पालना गर्ने सामूहिक प्रतिवद्धता समेत गरेका छन् । चुनावी सभा र कार्यक्रम नजुध्ने गरी संचालन गर्न पनि उनीहरु सहमत भइसके । दलहरुले एकअर्काप्रति देखाएको हार्दिकता र उद्धारता प्रशंसनीय छ ।
यो नियमित चुनाव भने होइन । जेनजी आन्दोलन पश्चात सृजना भएको आवश्यकताको उपज हो । चुनाव लोकतन्त्रको सुन्दर पक्ष हो । राजनीतिक असहमित, आन्दोलन र असन्तोषको निकास चुनावबाटै खोजिनुपर्छ । लोकतान्त्रिक प्रणालीको सुदृढिकरण र जनमतको कदरका लागि निर्धारित समयमै स्वच्छ र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्नु आवश्यक छ ।
जब चुनाव निष्पक्ष र पारदर्शी तरिकाले सम्पन्न हुन्छ, मात्र जनताको वास्तविक प्रतिनिधित्व सुनिश्चित गर्न सकिन्छ । निर्वाचन प्रणालीको बिनियमितता र निष्पक्षताले लोकतन्त्रको बिश्वास र मर्यादामा बल पु¥याउँछ । निष्पक्ष चुनावका लागि राजनीतिक दल, सुरक्षा निकाय र नागरिक समाजबीच उच्च एक्यवद्धता, सहकार्य र प्रतिबद्धता अपरिहार्य छ । जसले मात्र निर्वाचन सुरक्षा, व्यवस्थापन र आम मतदाताको विश्वास सुनिश्चित गर्न सक्दछ ।
निर्वाचनलाई शान्तिपूर्ण बनाउन सुरक्षा निकायहरुबीच समन्वयको उत्तिकै खाँचो छ । निर्वाचन ऐन तथा निर्देशिकाहरूको पूर्ण कार्यान्वयन गरी प्राविधिक तयारी समयमै पुरा गर्नुपर्छ । लोकतन्त्रमा सबैको एक्यवद्धता नै निर्वाचनको मुख्य मन्त्र हो । निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न होस् ।




