
निर्वाचन आचारसंहिता पालना गर्ने गोरखाका दलहरुको प्रतिवद्धता
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा आचारसंहिता पालना गर्ने दलहरुले प्रतिवद्धता जनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतवार आयोजना गरेको सरोकारवालाहरुको बैठकमा निर्वाचनमा सहभागी दल एवं उम्मेदवारहरुले आचारसंहिता पूर्ण रुपमा पालना गर्ने सामूहिक प्रतिवद्धता जनाएका हुन् ।
समय र स्थान जुध्ने गरी निर्वाचन सम्बन्धी कार्यक्रम संचालन नगर्ने र कार्यक्रमबारे नजिकैको सुरक्षा निकायमा जानकारी गराउने प्रतिवद्धता समेत उनीहरुले गरेका छन् । निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयको समन्वय तथा जानकारीमा सभा सम्मलेन गर्न दलहरु सहमत भएका छन् ।
बैठकमा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग गर्ने उनीहरुले प्रतिवद्धता जनाएका हुन् । देश विदेशमा रहेका उम्मेदवारका शुभेच्छुकबाट आचारसहिंता उल्लंघन हुन सक्ने सम्भावना रहेकाले अनुगमनको दायरा बढाउन कांग्रेसका जिल्ला सचिव किशोरजंग थापाले सुझाव दिए । उजुरी परेको खण्डमा छिटो प्रतिक्रिया दिन समेत उनले सम्बन्धित निकायलाई आग्रह गरे ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट गोरखा १ मा उम्मेदवारी दिएका हरिराज अधिकारीले आफूहरु आचारसंहिता पालना गर्न प्रतिवद्ध रहेको बताए । निष्पक्ष रुपमा चुनाव गराउन आग्रह समेत गरे । समाजिक सञ्जालमा थप निगरानी बढाउनु पर्ने रास्वपा जिल्ला सचिव मिलन रानाको धारणा छ । एमालेका गोरखा १ का उम्मेदवार आरसी लामिछानेले आचारसंहिता उल्लघन हुन नदिन आफूहरु तत्पर रहने बताए ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का राजकुमार श्रेष्ठले हातहतियार खोसिएको अवस्थामा रहेकाले सुरक्षाको जिम्मेवारीमा कुनै कसर बाँकी नराख्न आग्रह गरे । कार्यक्रममा सहभागी अन्य दलले निर्वाचनमा धादली हुन नदिन सचेत गराए ।
बैठकमा बोल्दै जिल्ला प्रहरी प्रमुख एसपी भरतबहादुर बिकले निर्वाचनको समयमा युवा वर्गलाई संयमित बनाउन दलहरु आफै तत्पर हुनुपर्ने बताए । अन्यथा फौजदारी कानून उपर कारवाही प्रक्रिया अघि बढ्ने उनले जानकारी गराए । उम्मेदवार र दलहरुलाई मिडियामैत्री बन्न पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकालले आग्रह गरे ।
मुख्य निर्वाचन अधिकृत तथा आचारसहिता अनुगमन संयोजक विष्णु प्रसाद गौतमको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उम्मेदवार, दलका प्रतिनिधी, सुरक्षा निकायका प्रमुख, पत्रकार लगायतको सहभागीता रहेको थियो । यही माघ ४ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू भइसकेको छ ।




