
कांग्रेस–एमाले गठबन्धनले सांसद बनिन् सम्झना
पटक पटक हार व्यहोर्दै आएकी गोरखाकी सम्झना देवकोटा राष्ट्रिय सभा सदस्यमा बनेकी छन् । राष्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशमा आइतवार भएको मतदानमा बिजयी बनेर उनले राष्ट्रिय सभा छिर्ने अवसर पाएकी हुन् । कांग्रेस एमाले गठबन्धनको फाइदा लिदैँ सम्झनाले राष्ट्रिय सभामै दोस्रो प्रयासपछि सांसद बन्ने सौभाग्य पाएकी हुन् ।
‘कांग्रेस–एमालेको गठबन्धनकै कारण एमालेले पनि सांसद पाएको हो । एक्लै लड्दा जित्ने अवस्था नरहेकी सम्झनाले माननीय हुने अवसर पाएकी हुन्,’ मतदातासमेत रहेका गण्डकीका एक कांग्रेस सांसदले भने । गठबनधन नहुँदा सम्झनाले जित्ने निश्चित थिएन । अघिल्लो पटक पनि राष्ट्रिय सभामै पराजित गोरखाकी सम्झना यसपटक जित पक्का भएपछि मनोनयनदेखि नै उत्साही थिइन् ।
जेनजी आन्दोलनका क्रममा भदौ १९ गते युवा विद्यार्थीको ज्यान गएपछि सम्झनाले पनि सरकारको विरोध गरेकी थिइन् । उनले त्यसको जिम्मेवारीसमेत ओलीले लिनुपर्ने बताएकी थिइन् । तर परिस्थिति फेरिँदै गएपछि सामाजिक सञ्जालमा पोस्ट गरेको स्टाटस हटाइन् र ओलीकै पक्षमा उभिइन् ।
उनलाई एमालेको अधिवेशनबाट सचिवमा विजयी भएका गण्डकीका पूर्वमुख्यमन्त्री खगराज अधिकारी आफैंले काठमाडौं लगेर राष्ट्रिय सभाको टिकट ल्याएका थिए । नत्र चितवनमा भएको १०औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी सम्झना यसपालि ओली प्यानलमै थिइनन् । एमालेको अघिल्लो केन्द्रीय कार्यसमितिमा खगराज संगठन विभाग प्रमुख हुँदा सम्झना सचिवको जिम्मेवारीमा थिइन् । २०७० सालको दोस्रो संविधानसभा चुनावमा उनको नाम समानुपातिक सूचीमा भए पनि सांसद बन्ने अवस्था थिएन ।
सम्झना यसअघि गोरखा नगरपालिकाको उपमेयर, मेयर हुँदै अघिल्लो राष्ट्रिय सभामा पनि हार बेहोरेकी नेता हुन् । एमालेको कमजोर जनाधार भएको गोरखाको २०७४ मा उपमेयर र २०७९ मा मेयरमा पराजित भएपछि २०८० माघ ११ गते भएको राष्ट्रिय सभामा एमालेले हार्ने चुनाव पनि उनैलाई लडाएको थियो । त्यसको ठिक २ वर्षपछि एमालेबाटै टिकट लिएर पाएर कांग्रेससँगको गठबन्धनकै बलमा उनले राष्ट्रिय सभा छिर्ने अवसर पाएकी हुन् ।
सम्झना जिल्लामा सचिव नेतृत्वमा हुने प्रणाली हटेर अध्यक्षात्मक प्रणालीमा गएपछि गोरखाको सचिवमा निर्वाचित भएकी थिइन् । २०६६ सालमा मतदानबाटै चुनिएकी उनी देशभरका एमाले जिल्ला सचिव बनेका २ जना मात्र महिलामध्ये हुन् । त्यो बेला सम्झना र झापामा पवित्रा निरौला मात्र पार्टी सचिव बनेका थिए ।
सम्झना गोरखा नगरपालिका–३ नारेश्वरकी स्थायी बासिन्दा हुन् । नेपाली कम्युनिस्ट आन्दोलनमा विगत चार दशक लामो यात्रा गरेकी उनी २०४० सालदेखिदेखि कम्युनिस्ट आन्दोलनमा होमिएकी हुन् । २०४५ सालमा अनेरास्ववियु गोरखा क्याम्पस इकाइ सहसचिव पदमा रहेर काम गरेकी सम्झनाले २०४७ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेकी थिइन् ।
२०४८ सालमा अखिल नेपाल महिला संघ, जिल्ला कमिटीको संस्थापक अध्यक्ष बनेर महिला आन्दोलनको नेतृत्व गरेकी उनी २०५४ सालबाट जिल्ला सदस्य, जिल्लाको सचिव हँुदै २०७४ मा प्रदेश कमिटी सदस्य थिइन् । एमालेकी भगवती न्यौपानेको कार्यकाल सकिएसँगै गोरखाबाटै सम्झनाले सांसद बन्ने अवसर पाएकी हुन् ।




