
बनिनसक्दै जीर्ण बन्यो धार्चेको प्रशासकीय भवन
निर्माण सम्पन्न नहुदैँ धार्चे गाउँपालिकाको प्रशासनिक भवन जीर्ण बनेको छ । बिगत दुईबर्षदेखि काम ठप्प भएपछि बनेको संरचना पनि जीर्ण हुदै बन्दै गएको हो । निर्माणाधिन भवनको संरचना अलपत्र पारेर छाडेको गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताए । निर्माण कम्पनी बिकोइ–हेमन्त जेभी दुई बर्षदेखि सम्पर्कमा नरहेको उनले जानकारी दिए ।
‘पाँच करोड रुपैयाँमा दुईबर्षभित्र निर्माण सम्पन्न सम्पन्न गर्ने गरी २०७८ साल वैशाख ५ गते ठेक्का सम्झौता भएको हो तर, चारबर्ष ११ महिना बितिसक्यो ठेकेदार सम्पर्कमा छैन’, गाउँपालिका प्रमुख लक्ष्मण गुरुङ भन्छन्, ‘फोन गर्दा फोन रिसिभ गर्दैन । सम्पर्कमा आउँदा पनि आउँदैन । तीन पटक म्याद थप भइसक्यो । कामचाहिँ २०८० सालदेखि ठप्पै छ ।’ कागजपत्र मिलाउन सिपालु ठेकेदार म्याद थप गर्दै बस्दै गरेको उनको भनाइ छ ।
गाउँपालिकाले बारम्बार ताकेता पत्र काटिरहेको गाउँपालिकाले जनाएको छ । ‘फोन उँठाउँदैन, त्यसैले तीन–तीन महिनामा ताकेता पत्र पठाइरहन्छौं’, गाउँपालिका प्रमुख गुरुङ भन्छन्, ‘कोरोना, भौगोलिक जटिलता, यातायातको असुविधाजस्ता सँधै एउटै ब्यहोराको जवाफ पठाइरहन्छ । ठेकेदार बाठो रहेछ । आइप¥यो भने मुद्दा लडौँला भनेर होला, कागजपत्रचाहिँ दुरुस्त बनाएर राखेको छ ।’
आफ्नै प्रशासकीय भवन नहुँदा पालिका भाडाको घरमा छ । आफ्नो भवन निर्माण नहुँदै जीर्ण राखेर बार्षिक चारलाख रुपैयाँ भाडा तिरेर कार्यालय सञ्चालन गरिरहनु परेको पालिकाको गुनासो छ । आफ्नै प्रशासकीय भवन नहुँदा पालिकाको कार्यसम्पादनमा असर पर्छ । साथै अभिलेख व्यवस्थापनमा समेत समस्या भएको उनले जानकारी दिए ।
‘भाडाको घरमा कार्यालय संचालन गर्दै आएका छौं । स्पेस कम भएर कर्मचारीको कार्यकक्ष समेत व्यवस्थापन गर्न सकेका छैनौं’, पालिका प्रमुख गुरुङले भने । शाखा कार्यालयको व्यवस्थापनमा समेत समस्या रहेको बताउँदै उनले ठाउँ अभावमा स्टोर समेत अन्यत्र राख्नुपरेको गुनासो छ ।




