
‘ब्याक’ भए बाबुराम, रास्वपालाई समर्थन गर्ने संकेत !
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका डा. बाबुराम भट्टराई अन्ततः ‘ब्याक’ भए । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोप) बाट गोरखा २ मा दिएको उम्मेदवारी उनले शुक्रवार फिर्ता लिए । उनीसँगै प्रलोपबाट गोरखा १ मा उम्मेदवारी दिएका गोपालबाबु श्रेष्ठले उम्मेदवारी फिर्ता लिए ।
अबको समर्थन कसलाई ? भन्ने बारे उनले प्रष्ट पारिसकेका छैनन् । उम्मेदवारी फिर्ता लगतै आफूहरुलाई समर्थन गर्दै उम्मेदवार फिर्ता लिएको भन्दै सामाजिक सञ्जालमा पोष्ट्याउन अन्य दलहरुबीच होडबाजी नै चल्यो । हचुवाको भरमा पार्टीपिच्छे समर्थनको प्रचारबाजी हुन थालेपछि प्रलोपले बिज्ञप्ती नै जारी गर्नुप¥यो । शुक्रवार बिज्ञप्ती जारी गर्दै आगामी चुनावमा प्रत्यक्षतर्फ हालसम्म कुनै उम्मेदवारलाई समर्थन गर्ने निर्णय नभएको पार्टीले जानकारी गरायो । उपयुक्त उम्मेदवारलाई सहयोग गर्ने गरी पार्टीबाट निर्णय हुने समेत बिज्ञप्तीमा भनिएको छ ।
कुन उम्मेदवारलाई समर्थन गर्ने ? भन्ने स्पष्ट धारणा नआएपनि भट्टराईले रास्वपालाई सहयोग गर्ने संकेत देखिन्छ । उनी अबका दिनमा सोझो वा घुमाउरोरुपले रास्वपासँगै जोडिनेछन् भन्ने पुष्टि केही तथ्य र आधारहरू छन् । शुक्रवार दिउँसो १२ः५६ मा रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा स्टाटस लेख्दै डा. भट्टराईलाई उम्मेदवारी फिर्ता लिएर रास्वपालाई सघाउन खुला आह्वान गरेका थिए । स्टाटस लेखेको १६ मिनेटपछि डा. भट्टराईको भिडिओ वक्तव्यमार्फत उम्मेदवारी फिर्ताको घोषणा आउनु संयोग मात्र थिएन । त्यसअघि नै रास्वपा नेतृत्वसँग उनको एक तहको ‘अन्डरस्ट्याण्डिङ’ भइसकेको स्रोत बताउँछ ।
रास्वपाको उच्च स्रोतका अनुसार सभापति रवि लामिछाने र उपसभापति डा. वाग्लेले डा. भट्टराईसँग फोन संवाद गरेर उम्मेदवारी फिर्ता लिन र आफ्नो पार्टीका उम्मेदवारलाई सघाउन आग्रह गरेका थिए । उनीहरूको आग्रहलाई स्वीकारेर नै डा. भट्टराई आफ्नो उम्मेदवारीबाट पछि हटेको बुझिन्छ ।
डा. भट्टराईले आफ्नो वक्तव्यमा रास्वपालाई चुनावमा सघाउने स्पष्ट प्रतिबद्धता जनाएका छैनन्, तर उनले लामिछाने र वाग्लेसँग भने त्यस्तो वचन दिएको स्रोतको दाबी छ । स्रोतका अनुसार ‘चुनावपछि बन्नसक्ने रास्वपा सरकार’ मा बाबुराम सल्लाहकारको भूमिकामा रहने भद्र समझदारी भएको छ । त्यसो त बाबुरामले भावी राष्ट्रपतिको आकांक्षासमेत प्रस्तुत गरेका थिए । तर रास्वपाले यसमा कुनै पनि प्रतिबद्धता नजनाएको स्रोतको भनाइ छ ।
रास्वपा र डा. भट्टराई आज आएर अनायास नजिकिएका होइनन् । करिब दुई वर्षअघिदेखि नै उनलाई रास्वपामा जोड्न छलफल भएको थियो । पार्टीको संरक्षक वा सल्लाहकार पद सिर्जना गरेर सकिनेबारे रास्वपा नेतृत्व सकारात्मक पनि थियो । तर डा. भट्टराईका केही अतिवादी विचारहरूले गर्दा निर्णय लिन नसकिएको पार्टीका एक पदाधिकारी बताउँछन् ।
काठमाडौ महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र साह रास्वपा प्रवेश गर्नुअघि थुप्रै राजनीतिकर्मीहरूलाई बोलाएर भेट्दा त्यो लाइनमा डा. भट्टराई पनि थिए । उनी ज्वागलस्थित कुमार बेनको घरमै बालेन भेट्न पुगेका थिए । अहिले बाबुराम रास्वपाप्रति सकारात्मक बनेका छन् ।
यो एउटा वाध्यात्मक परिस्थितिको उपज पनि हुन सक्छ । भट्टराईको पछिल्लो निर्णयले गोरखा २ को चुनावी माहोलमा केही बदलाव ल्याइदिएको छ ।




