
दरौंदीको गिटी, बालुवा चोरी हुनु शंकास्पद र लज्जास्पद
गोरखा नगरपालिका र पालुङ्टार नगरपालिकाको मझधार भएर बग्ने दरौंदी किनारबाट नियम कानूनको धज्जी उँडाएर चोरहरुले नदीजन्य सामग्री चोरी गरिरहेका छन् । नियमन गर्ने नगरपालिका मुकदर्शक भएर बसेको छ । ठेक्का लगाएर बेच्नु पर्ने नदीजयन्य सामग्री चोरी भइरहेको सूचना र जानकारी हुँदा पनि मुकदर्शक भएर बस्दा आम जनमानसले चोरीमा नगरपालिकाका जिम्मेवार व्यक्तिहरुको मिलेमतोको आरोप लगाएका छन् ।
गत पुस अन्तिम साता स्थानीयबासीले दरौंदी पत्रिकामा टेलिफोन गरी धमाधम नदीजन्य सामग्री चोरी भइरहेको सूचना गरेपछि स्थलगत रिपोर्टिङ गर्दा चोरी भइरहेको रंगेहात फेला परेका थिए । समाचार प्रकाशनपछि जिल्ला अनुगमन टोलीले स्थलगत अनुगमन गर्दा पनि चोरी भइरहेको फेला परेको थियो ।
त्यतिबेलै चोरीको पुष्टि भए पनि न चोरलाई जरिबाना गरियो, न त्यसपछि चोर्नबाट रोकावट । बरु नगरपालिका देखेको नदेख्यै गरी, थाहा पाएको नपायै गरी चुपचाप बस्यो । अनुगमनमा गएका नगरपालिकाका जिम्मेवार पदाधिकारी तथा कर्मचारीले ‘चोरीबाट बचाउन साध्यै लाग्दैन’ जस्ता अति गैरजिम्मेवार जवाफ दिए । जवाफ सुन्नेहरु समेत अचम्मित भए ।
गोरखा नगरपालिकाले अमृत कन्स्ट्रक्सनलाई ढुंगा उत्खननका लागि अनुमति पत्र दिएको थियो । बाह्रकिलो छेपेटार भालुस्वाँरा बारपाक सडक मर्मतका लागि भन्दै गत पुस १३ गते वडा नम्वर १० मसानेपाटी घाटबाट १०० घनमिटर ढुंगा उत्खननका लागि नगरपालिकाले अनुमति पत्र दिएको थियो । पाँच वटा ट्याक्टर प्रयोग गर्न पाउने भन्दै दिइएको पत्रमा माघ १० गतेसम्म उत्खनन गर्न पाउने भनी उल्लेख छ ।
एक सय घनमिटर ढुंगा उत्खननका लागि २७ दिनको समय दिनु धेरै शंकास्पद कुरा हो । त्यसैले त्यसपछि पनि नदीजन्य सामग्री निरन्तर चोरी भइरह्यो । चोरी रोक्न न नगरपालिकाका पदाधिकारीले चासो देखाए, न कर्मचारीले । प्रहरी त उनीहरुले आव्हान गरेपछि मात्र जाने शक्ति हो । आव्हान नभएपछि प्रहरी पनि मौन दर्शक भयो ।
जिम्मेवार निकायको यस्तो निस्कृयता ज्यादै शंकास्पद, लज्जस्पद काम होे ।




