| शुक्रबार, बैशाख १७, २०८३

गोरखामा यस वर्ष सुन्तलाको उत्पादन १५ प्रतिशतले बढ्यो, २२ करोडको आम्दानी

प्रतीक्षा आले ।
गोरखामा यस वर्ष सुन्तलाको उत्पादन १५ प्रतिशतले बृद्धि भएको छ । राष्ट्रिय कृषि आधुनिकिरण कार्यक्रम, कार्यान्वयन एकाइ गोरखाका अनुसार जिल्लामा यो वर्ष ३१ सय ८७ मेट्रिकटन सुन्तला उत्पादन भएको हो ।
यसबापत किसानहरुले करिब २२ करोड रुपैँया आम्दानी गरेको एकाइकी सूचना अधिकारी पूजा रेग्मीले बताइन् । किसानहरुले एक करोड ५० लाख रुपैँया बराबरको कागती समेत बिक्री गरेको उनले जानकारी दिइन् । उनका अनुसार यो वर्ष गोरखामा गतबर्षको भन्दा १५ देखि २० प्रतिशतले सुन्तलाको उत्पादन वृद्धि भएको छ । उत्पादन बढेसँगै किसानहरु उत्साहित बनेको रेग्मीको भनाइ छ ।
‘यसबर्ष मौसम अनुकुल भएकाले पनि उत्पादन बढेको हो, विगतका वर्षहरुमा रोपेको सुन्तलाले यस वर्षबाट उत्पादन दिन थालेकाले पनि उत्पादनमा बृद्धि आएको हो’, उनले भनिन् । गतवर्ष जिल्लाभर जम्मा १९ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यस्तै, आर्थिक वर्ष २०८०÷०८१ मा १६ सय मेट्रिक टन र २०७९÷०८० मा करिव १८ सय मेट्रिक टन सुन्तला उत्पादन भएको राष्ट्रिय कृषि आधुनिकिरण कार्यक्रम, कार्यान्वयन एकाइ गोरखले जनाएको छ ।
कृषि ज्ञान केन्द्र गोरखाले पनि यो वर्ष जिल्लामा सुन्तलाको उत्पादन बढेको बताएको छ । कार्यालयका सूचना अधिकारी सुमन भट्टराईका अनुसार यो वर्ष जिल्लाभर १५ प्रतिशतले सुन्तलाको उत्पादन बढेको हो । कार्यालयले आम्दानीको विवरण भने नराखेको उनले जानकारी दिए ।
‘मौसमको अनुकुलता र किसानहरुकै मेहनतका कारण यो वर्ष उत्पादन बढेको हो । कृषि ज्ञान केन्द्रले पनि आफ्नो ठाउँबाट प्राविधिक सहयोग गर्दै आएको छ’, उनले भने ।
जिल्लाको सुन्तला जात फलफुल खेतीलाई राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम कार्यान्वयन एकाइ गोरखाले सघाउँदै आएको छ । कार्यालयले जिल्लामा सुन्तला जोन कार्यक्रम लागु गरेर सुन्तला खेती प्रवद्र्धन गर्दै आएको हो । गण्डकी, सहिदलखन, भीमसेनथापा गाउँपालिकाका र गोरखा नगरपालिकाका सबै वडा, पालुङटार नगरपालिकाका वडा नं ९ र १० तथा सिरानचोक गाउँपालिकाको वडा नं २, ४ र ५ लाई समेटेर सुन्तला जात फलफूल जोन घोषणा गरी कार्यान्वयन गरिरहेको राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम कार्यान्वयन एकाइ गोरखाकी प्रमुख पूर्ण ढुङ्गाना बताउँछिन् । ढुङ्गानाका अनुसार जिल्लामा सुन्तलाको उत्पादन बढाउन बगैचा व्यवस्थापन तथा चक्लाबन्दी, क्षेत्र बिस्तार, साना सिंचाई पूर्वधार निर्माण, उन्नत प्रविधिसहितको प्रदर्शनी, साना मेसिनरी वितरण लगायतका कार्यक्रमहरु संचालन गरिएको छ ।
सुन्तला जोन बाहेकका क्षेत्रहरुमा करिब १० प्रतिशत सुन्तला उत्पादन हुने गरेको एकाइको भनाई छ ।
जिल्लाको गण्डकी, भीमसेनथापा र शहिदलखन, सिरानचोक गाउँपालिका, गोरखा र पालुङटार नगरपालिका तथा उत्तरी गोरखाको धार्चेस्थित काशीगाउँमा सुन्तला फल्ने गर्छ ।
गण्डकीको ताङ्लीचोक, भुम्लिचोक, फलाटे, फुजेल र सहिदलखनको मनकामना, बक्राङ, ताक्लुङ, मास्कीछाप, तिनमाने, अधेरीलाई सुन्तालको पकेट क्षेत्र मानिन्छ । त्यस्तै भीमसेन थापाको तान्द्राङ, पालुङटारको बागडाँडा, शेरा र गोरखा नगरपालिकाको ताप्ले, नारेश्वर, फिनाम र भट्टवेशीलाई पनि सुन्तला उत्पादनको पकेट क्षेत्रको रुपमा लिने गरिन्छ ।
जिल्लाको करिव एकहजार ९७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुदै आएको छ भने करिब ३०० किसान सुन्तला खेतीमा आवद्ध छन् । जिल्लाका किसानहरुले खाकु र स्थानीय जातको सुन्तला लगाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्