| आइतवार, जेष्ठ १६, २०८३

म कांग्रेसको युवा पुस्ताको प्रतिनिधि हुँ : प्रेम खत्री

गोरखा १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेद्वार दिएका प्रेमकुमार खत्रीले आफू नेपाली कांग्रेसको युवा पुस्ताको प्रतिनिधि भएको बताएका छन् । मनोनयन दर्तापछि गोरखा सदरमुकाममा पत्रकार सम्मेलन आयोजना गरी उम्मेद्वार खत्रीले अहिले देश युवाको काँधमा आएको र आफू पनि युवा पुस्ताको प्रतिनिधि भएको तर्क गरेका छन् ।

‘म उमेरले पनि ४०, ४१ बर्षको युवा हुँ । स्कूले जीवनदेखि नै नेपाल विद्यार्थी संघको राजनीतिमा काम गरेको अनुभव छ’, उनले भने, ‘अहिले विशेष महाधिवेशनपछि कांग्रेस पनि युवा पुस्ताले हाँकेको छ । त्यसैले म पनि कांग्रेसबाट युवा पुस्ताको प्रतिनिधित्व गर्दै चुनाव लड्दैछु ।’

काठमाडौंमा व्यवसाय गरे पनि संगसंगै सामाजिक काम गरेर दुरदराजको जनताको सेवा गरिरहेको उनको भनाइ छ । ‘काठमाडौंमा रहेर व्यवसाय गरे पनि हरेक, महिना, दुई महिनामा गाउँघर फर्कन्छु । गण्डकी गाउँपालिकादेखि चुमनुब्री गाउँपालिकासम्मका गाउँघर पुगेको छु । त्यहाँको सुखदुख बुझेको छु । विदेशी दातृनिकायसंग मिलेर सक्दो सहयोग गरिरहेको गाउँले सबैलाई थाहा छ । मैले भनिरहनै पर्दैन ।’ आफूले निरन्तर गरिरहेको समाजसेवाका कारण आफूले जनमत प्राप्त गर्ने उनले बताए ।

उनले सम्भव नेपाल नामक फाउण्डेशनबाट बर्सेनी क्षेत्र नं. १ का धार्चे, चुमनुब्री, आरुघाट गाउँपालिकाका सबै स्कूले विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गर्दै आएको बताए । साथै विभिन्न गाउँपालिकाका स्वास्थ्यचौकीहरुलाई एम्बुलेन्स प्रदान गरेको पनि स्मरण गरे । ‘प्रतिनिधि सभा सदस्य हुनु भनेको पूर्वाधार विकासका लागि भन्दा पनि मुलुक सञ्चालनका लागि सही नीति निर्माण गर्ने हो भन्ने बुझेको छु’, पत्रकार सम्मेलनमा उनले भने, ‘तैपनि पद र ओहोदामा नरहँदा त समाजसेवा गरिरहेको थिएँ । यदि चुनाव जितेर जनप्रतिनिधि भएँ भने सरकारी र गैरसरकारी दातृनिकायसंग समन्वय गरी झन् बढि जनतासंग जोडिन पाउँछु । दुख, सुख साँट्न पाउँछु ।’

विशेष अधिवेशनपछि गोरखाको कांग्रेस झन धेरै मजबुद भएको भन्दै उनले आफूलाई पार्टीभित्र र बाहिरबाट मनग्य सहयोग पाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्