
उम्मेद्वार चयनमा न नयाँ पुस्ता, न समावेशिता, ५० वर्ष कटेकाहरुको उम्मेदवारी धेरै
प्रतीक्षा आले ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि गोरखामा प्रत्यक्ष तर्फ २७ जनाले उम्मेदवारी दिएका छन् । गोरखा क्षेत्र नं १ बाट १३ र क्षेत्र नं २ बाट १४ जनाले उम्मेदवारी दर्ता गराएका जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।
उम्मेदवारी दर्ता गराएका मध्ये ५० वर्ष कटेकाहरुको संख्या धेरै रहेको कार्यालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
गोरखा क्षेत्र नं १ बाट उम्मेदवारी दिएका १३ जनामध्य ६ जना ५० वर्ष माथिका छन् । यो समूहमा महिलाको सङख्या जम्मा १ छ । नेपाल मजदुर किसान पार्टीबाट मनुकुमारी श्रेष्ठ यो उमेर समूहको एकमात्र महिला उम्मेदवार हुन् ।
गोरखा क्षेत्र नं १ बाट उम्मेदवारी दिएकाहरुमा ३६ देखि ५० वर्ष उमेर समूहका ५ जना रहेका छन् । यो उमेर समूहमा नेपाली काङ्ग्रेसको तर्फबाट प्रेम खत्री, राष्ट्रिय स्वतन्त्र पार्टीबाट जेन–जी आन्दोलनका अगुवा सुधन गुरुङ तथा नेकपा एमालेका रामचन्द्र लामिछाने रहेका छन् । यस उमेर समूहमा महिला उम्मेदवार भने छैनन् । यस क्षेत्रबाट स्वतन्त्र उम्मेदवारको रुपमा ३४ वर्षकी कविता भण्डारी र मंगोल नेशनल अर्गनाइजेसनको तर्फबाट २९ वर्षका देवबहादुर थापाले पनि उम्मेदवारी दिएका छन् ।
गोरखा क्षेत्र नं २ बाट जम्मा १४ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ । जसमध्य ५० वर्ष माथिका उम्मेदवारहरु आठ जना रहेको कार्यालयको भनाई छ । यस उमेर समूहमा नेकपा एमालेको उम्मेदवार मिलन गुरुङ(चक्रे मिलन), नेपाली कम्युनिष्ट पार्टीका लेखनाथ न्यौपाने तथा प्रगतिशिल लोकतान्त्रिक पार्टीका उम्मेदवार पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई रहेका छन् ।
क्षेत्र नं २ बाट उम्मेदवारी दिएका ३६ देखि ५० वर्ष उमेर समूहका ५ जना रहेका छन् । यो उमेर समूहमा नेपाली काङ्ग्रेसको तर्फबाट प्रकाशचन्द्र दवाडी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कबिन्द्र बुर्लाकोटी लगायत छन् । यस क्षेत्रबाट एकजना महिलाले मात्र उम्मेदवारी दिएकी छिन् । आम जनता पार्टीको तर्फबाट कल्पना कुमालले उम्मेदवारी दिएकी हुन् । उनी पनि यही उमेर समूहभित्र पर्छिन् । निर्वाचन आयोगका अनुसार ६८ वटा दलले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार उठाएका छन् ।




