
मनोनयनका क्रममा भएका रोचक जम्काभेट
फागुन २१ को निर्वाचनका लागि मंगलबार मनोनयन गर्ने क्रममा विभिन्न पक्ष बीच रोचक जम्काभेट भए । तर सबै उम्मेद्वारहरु बीच सुखद सौहाद्र्रता देखियो । कसैले कसैप्रति कटाक्ष गरेन, कसैले कसैप्रति भड्कावपूर्ण उत्तेजक नाराबाजी गरेनन् । बरु सुमधुर अभिवादन र शुभकामना आदानप्रदान भए ।
कडा चुनावी टक्कर हुने आँकलन गरिएका चार मुख्य दलका उम्मेद्वारहरु एक आपसमा हात मिलाएर अभिवादन गरे भने परस्पर शुभकामना आदानप्रदान गरेका दृश्यले कार्यकर्ता बीच सुखद सन्देश संप्रेषण गरेको छ ।
उम्मेद्वार मात्र नभै साथमा आएका नेता, कार्यकर्ताहरु पनि संगै बस्ने, मित्रवत कुराकानी गर्ने गरेको दृश्यले दर्शकलाई सुखद महशुस गराएको थियो ।
गोरखा २ का हेभीवेट उम्मेद्वार डाक्टर बाबुराम भट्टराई मनोनयन दर्ता गर्न निर्वाचन कार्यालयमा प्रवेश गर्नेवित्तिकै त्यहाँ मनोनयन दर्ताको क्रममा बसिरहेका एमालेका उम्मेद्वार मिलन गुरुङ(चक्रे मिलन) जुरुक्क उठे र भट्टराई सामु पुगे । नमस्कार आदान–प्रदान भयो । हात मिलाएर अभिवादन गरे अनि परस्पर शुभकामना आदान–प्रदान गरे ।
क्षेत्र नं. १ को निर्वाचन कार्यालयमा नेपाली कांग्रेसका उम्मेद्वार प्रेमकुमार खत्री र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार सुधन गुरुङ बीच सौहाद्र्र संवादले त्यहाँ उपस्थित विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, कर्मचारी तथा सञ्चारकर्मीहरुको ध्यानाकर्षण ग¥यो ।
‘नेपाली कांग्रेसको नयाँ पुस्ताले गरेको विद्रोह देखेर खुशी लाग्यो । अब देश नयाँ पुस्ताले हाँक्नुपर्छ’, सुधनले प्रेम खत्रीसंग हात मिलाउँदै भने । जवाफमा प्रेम खत्रीले भने, ‘कांग्रेसले नयाँ पुस्तालाई न्याय गरेको महशुस भएको छ । आउँदो चुनावमा जित जसको भए पनि युवा पुस्ताको हुनेछ ।’
त्यस्तै क्षेत्र नं. २ का उदीयमान नेता तथा उम्मेद्वार नेपाली कम्युनिष्ट पार्टीका लेखनाथ न्यौपाने र युवावर्ग बीच नयाँ लहर ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं उम्मेद्वार कविन्द्र बुर्लाकोटी बीच पनि रचनात्मक सम्वाद सुनियो । प्रतिस्पर्धा स्वस्थ गर्न आग्रह गर्दै न्यौपानेले भने, ‘स्वस्थ प्रतिस्पर्धामा तपाई आए पनि म आए पनि फरक पर्दैन’
तत्काल जवाफ फर्काउँदै कवीन्द्र बुर्लाकोटीले भने, ‘पुरानो रह्यो त्यो पद्धति, पैसा बाँडेर बिगार्ने । त्यसलाई यो चुनावमा रोकौं ।’ त्यसको जवाफमा न्यौपानेले भने, ‘पुरानो नयाँ त पछि छलफल गरौंला पैसा रोकौंँ ।’ संवाद सुनेर दुवै पार्टीका नेता कार्यकर्ता गलल्ल हाँसेका थिए ।
यसैबीच क्षेत्र नं. २ को निर्वाचन कार्यालयमा मनोनयन दर्ता गर्न जाने क्रममा नेपाली कम्युनिष्ट पार्टी र एमालेका नेता कार्यकर्ताको जुलुस नगरपालिका रोडमा जम्काभेट भयो । एमालेको टोली दर्ताका लागि जाने र नेकपाको टोली फर्कने क्रममा भएको जुलुसको जम्काभेटमा पनि मैत्रीपूर्ण व्यवहार भएको थियो । एक अर्कामा परबाटै हेल्लो हाई गर्दै, हात हल्लाउँदै दुई पक्षको जुलुस पार भयो ।
त्यस्तै चुनावी गीत बजाएर हरमटारी चोकमा रमाइरहेका नेकपाको टोली र क्षेत्र नं १ को कार्यालयतर्फ गइरहेको रास्वपाको सुदन गुरुङसहितको जुलुशको पनि चोकमा जम्काभेट भयो । दुई पक्षको जुलुसको जम्काभेटलाई सबैतिरबाट चासोका साथ हेरिएको थियो तर सौहार्द्रतापूर्वक हात हल्लाउँदै, अभिवादन आदान प्रदान गर्दै जुलुस पार भयो । उत्तेजित नारा लगाउने तथा आरोप प्रत्यारोप नगरी मर्यादित व्यवहार भएको जम्काभेट सुखद रह्यो ।




