| सोमवार, कार्तिक २३, २०८३

पत्रकार श्रेष्ठले बनाएको डकुमेन्ट्री ‘अरिङ्गाल म्यान’लाई उत्कृष्ट अवार्ड

गोरखाका पत्रकार भीमलाल श्रेष्ठद्वारा निर्देशित वृत्तचित्र ‘अरिङ्गाल म्यान’ले १४ औं नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेष्टिवलमा उत्कृष्ट वृत्तचित्र अवार्ड जितेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यमा सम्पन्न एक कार्यक्रम बीच वृत्तचित्रका निर्देशक पत्रकार श्रेष्ठ लाई अवार्ड प्रदान गरिएको थियो ।

फिचर, सर्ट तथा वृत्तचित्र गरी नेपाल सहित २० देशका २० वटा स्वदेशी र २३ वटा विदेशी चलचित्र सहभागी रहेको फेष्टिवलमा २६ विधामा अवार्ड वितरण गरिएको थियो । श्रेष्ठले निर्माण गरेको वृत्तचित्र ‘मकै विवाह’ र ‘जोगी’ ले यस अघि पनि विभिन्न अवार्ड जितिसकेको छ ।

त्यस्तै नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेष्टिवलमा नेपाल पानारेमा अन्तर्गत चलचित्र ‘परान’बाट निर शाहले उत्कृष्ट अभिनेता र ‘कोसेढुङ्गा’ बाट सुरक्षा पन्तले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेको छ । ‘नाम ओती’ ले उत्कृष्ट आदिवासी चलचित्र सहित ३ विधामा अवार्ड प्राप्त गरेको छ ।

छोटो चलचित्र तर्फ ‘भुवा’बाट गजित विष्ट र सौगात विष्टले अवार्ड पाए । फेष्टिवलमा इन्टरनेशनल पानारोमा अन्र्तगत इजिप्ट ‘द मंकी’ले बेष्ट फिल्म अवार्ड, बंगालादेशको ‘मेमोरीज अफ ग्लोमी मनसुन’ फिचर फिल्म अवार्ड, भारतको ‘ब्ल्यू’ ले सर्ट फिल्म अवार्ड प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्