
राजनीतिको केन्द्रमा रहेकाहरु गोरखाबाट चुनावी प्रतिस्पर्धामा
प्रतीक्षा आले ।
गोरखाबाट जितेर जानेहरु प्रधानमन्त्री, उपप्रधानमन्त्री हुने गरेकाले गोरखाको चुनावलाई देशभर महत्वका साथ हेर्ने गर्छन् । यसपटक पनि पूर्वप्रधानमन्त्री, जेनजी आन्दोलनपछि चर्चामा आएका सुधन गुरुङ लगायतले चुनावी मैदानमा उत्रिएका हुँदा गोरखा फेरि चर्चाको शिखरमै छ । बिगतका निर्वाचनमा गोरखाबाट जितेर गएका डाक्टर बाबुराम भट्राई, प्रचण्ड, नारायणकाजी श्रेष्ठ प्रधानमन्त्री तथा उपप्रधानमन्त्री भए । यसपटक पनि राजनीतिको केन्द्रमा रहेकाहरु गोरखाबाट चुनाव लड्दैछन् ।
जेनजी आन्दोलनपछिको राजनीतिक व्यवस्थापनमा अग्रणी भूमिका खेलेका पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, अहिलेको उदीयमान राजनीतिक शक्तिका रुपमा देखिएको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी, जेनजी आन्दोलनपछि एकाएक चर्चामा आएका सुधन गुरुङ र विवादै विवादका कारण चर्चित चक्रे मिलनले चुनाव लड्ने भएकाले गोरखाप्रति सबैको ध्यानाकर्षण भएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि यी तिनै जनाले मंगलबार आ–आफ्नो निर्वाचन कार्यालयलमा मनोनयन दर्ता गराएका छन् । डा.भट्टराई तथा चक्रे मिलनले गोरखा क्षेत्र नंबर २ बाट चुनाव लड्दैछन् भने सुधन गुरुङ गोरखा क्षेत्र नं १ बाट चुनावी मैदानमा उत्रिएका छन् ।
पहिलो पटक चुनावी मैदानमा उत्रिएका सुधनले दशकौंदेखि चुनावी प्रतिस्पर्धा गरिरहेका कांग्रेस, एमाले माओवादीसंग टक्कर गर्दैछन् । उनले कडा प्रतिस्पर्धा नेपाली काङग्रेसका प्रेम खत्री, नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारी र एमालेका आरसी लामिछानेसँग कडा प्रतिस्पर्धा गर्नुपर्नेछ ।
यस क्षेत्रमा यसअघिका चुनावमा काङ्ग्रेस र माओवादीले आलोपालो गरेर चुनाव जित्ने गरेका थिए । २०७९ को चुनावमा काङ्ग्रेस र माओवादीले गठबन्धनबाट उठेका उम्मेद्वार राजेन्द्र बजगाईले ३३ हजार ४२८ मत प्राप्त गरेका थिए । बिनातालमेल एक्लै उठेका नेकपा एमालेका रामशरण बस्नेतले १६ हजार ७८५ मत प्राप्त गरेका । तर पहिलो पटक चुनावी प्रतिस्पर्धा गरेका रास्वपाका उम्मेद्वार सुर्वण रोकायाले जम्मा चारहजार ८९२ मत प्राप्त गरेका थिए ।
सबैभन्दा कम मत पाएका रास्वपाबाट अहिले सुधन गुरुङले ठूला तीन दलसंग प्रतिस्पर्धा गर्दैछन् । जेनजी आन्दोलनपछिका विभिन्न घटनाक्रममा महत्वपूर्ण भूमिका निर्वाह गरेर सहानुभूति र समर्थन पाएका सुधन गुरुङको चुनावी प्रतिस्पर्धालाई देशभरबाट चासोका साथ हेरिएको छ ।
उनले मनोनयन दर्ता गराएपछि नेपाली काङ्ग्रेसका प्रेम खत्रीसंग संवाद गरेका थिए । सो क्रममा सुधनले नेपाली काङ्ग्रेसका युवावर्गले गरेको विद्रोहको प्रशंसा गरेका थिए । यस्तै, उनीहरुले एकअर्कालाई शुभकामना आदनप्रदान गरेका थिए ।
यसपटकको चुनावमा गोरखा क्षेत्र नं १ बाट नेकपा एमालेका रामचन्द्र लामिछानेसहित अन्य १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
कुनैबेला देशमै सर्वाधिक मत र सर्वाधिक मतान्तरले विजय हाँसिल गरेका डाक्टर बाबुराम भट्टराईको अहिलेको निर्वाचनलाई पनि बढि चासोका साथ हेरिएको छ । उनले २०६४ सालको निर्वाचनमा तत्कालीन माओवादीबाट ४६,२७२ मत र सर्वाधिक मतान्तरले विजय प्राप्त गरेका थिए । त्यतिबेला उनका निकटत्तम प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्रप्रसाद न्यौपानेले जम्मा ६,१७१ मत मात्र प्राप्त गरेका थिए । सोही कालखण्डमा उनी नेपालका प्रधानन्त्रीसमेत भएका थिए ।
२०७० सालको चुनावमा गोरखा क्षेत्र नं. १ बाट २२,८२४ मत प्राप्त गरी निर्वाचित भएका थिए भने २०७४ सालमा नेपाली कांग्रेससंग तालमेल गरी क्षेत्र नं. २ बाट ३१,८०७ मत प्राप्त गरी विजयी भएका थिए । २०७२ सालमै सो पार्टी छाडेर विभिन्न पार्टी गठन गर्दै अहिले प्रगतिशिल लोकतान्त्रिक पार्टीमा आवद्ध छन् । अर्कातिर यो चुनावमा उनको कसैसंग पनि तालमेल पनि छैन । त्यसैले अहिले उनी त्यो बिरासत जोगाउन सक्ने, नसक्ने सर्वत्र चर्चा छ ।
उनीसंग प्रतिस्पर्धामा छन्, नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी, जसले २०७४ को प्रदेश सभा चुनावमा माओवादी र एमाले तालमेल गर्दा पनि गठबन्धनका उम्मेद्वारलाई पछि पार्दै विजयी बनेका थिए । अर्का प्रतिस्पर्धी आफ्नै पुरानो पार्टी माओवादी(हाल नेकपा)का लेखनाथ न्यौपाने । वौद्धिक जगतमा राम्रै ख्याति कमाएका न्यौपानेको मताधार पनि गोरखा २ मा दह्रो छ ।
अर्का प्रतिस्पर्धी छन्, उदीयमान पार्टी रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी, जसले गत २०७९ को निर्वाचनमा प्रचण्डसंग प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला कांग्रेससंग गठबन्धन गरेका प्रचण्डले २६,१०३ मत प्राप्त गरेका थिए भने बिना गठबन्धन बुर्लाकोटी एक्लैले १२,६३९ मत प्राप्त गरेका थिए ।
डाक्टर भट्टराईका अर्का प्रतिस्पर्धी हुन्, विभिन्न कारणले चर्चा कमाएका मिलन गुरुङ(चक्रे मिलन) । गोरखा २ मा गुरुङ समुदायको बाहुल्यता छ । विवादित छवि भए पनि गुरुङ समुदायका उम्मेद्वार भएका कारण मिलनले यसपटक गुरुङ समुदायको मत प्राप्त गर्ने हुँदा कडा टक्कर दिने सम्भावना देखिन्छ । यस निर्वाचनका लागी गोरखा क्षेत्र नं २ बाट १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।




