
निशुल्क एकीकृत स्वास्थ्य शिविरमा चार सय बढीले सेवा लिए
जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–४ रन्चोकमा सम्पन्न निशुल्क एकीकृत स्वास्थ्य शिविरमा चारसय १३ जनाले सेवा लिएका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय, प्रदेश अस्पताल गोरखा, प्रदेश आयुर्वेद चिकित्सालय गोरखा, आँपपिपल अस्पताल तथा बारपाक सुलिकोट गाउँपालिका संयुक्त आयोजनामा यही आइतबार र सोमबार शिविर संचालन भएको थियो ।
शिविरमा तीनसय ३५ जनाले नसर्ने रोग पहिचानका लागी रक्त नमुना संकलन तथा परिक्षण सेवा लिएको प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका नारायण अर्यालले बताए । यस्तै, १०७ जनाले कुष्ठरोग स्क्रनिङ सेवा, ३ जनाले कुष्ठरोगको पहिचानका लागी नमुना संकलन तथा साढे तीनसयले छातिको एक्सरे सेवा लिएको उनले जानकारी दिए ।
अर्यालका अनुसार छातीको एक्सरे गराएकाहरुमध्ये सात जनामा क्षयरोग पुष्टि भएको छ । शिविरमा एआई–एक्सरेको सहायताले क्षयरोगको शंका भएका १५ जनाको खकार नमुना संकलन गरिएको थियो । शिविरमा २३२ जनाले मनोपरामर्श सेवा, १६० जनाले योग ध्यान, मेडिटेसन, जिवनशैली, आहारविहार परामर्श सेवा, २६८ जनाले आँखा स्क्रिनिङ सेवा र १०१ जनाले फोक्सोको क्षमता परिक्षण गराएका छन् ।
शिविरमा पहिचान भएका विरामीहरुलाई शिघ्र उपचारको दायरामा ल्याइएको प्रदेश जनस्वास्थ्य कार्यालयकी प्रमुख सिम्रन काफ्लेले बताइन् ।




