
गोरखा २ मा बाबुरामलाई बिरासत जोगाउनै चुनौती
फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नलड्ने बताउँदै आएका डा. बाबुराम भट्टराईले अन्ततः गोरखा २ बाट चुनाव लड्ने घोषणा गरे । प्रगतिशील लोकतान्त्रिक पार्टीको आइतवार गोरखामा आयोजित अगुवा कार्यकर्ता भेटघाटमा उनले प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन् ।
मतदाताको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै चुनाव लड्न लागेको उनले जानकारी गराए । सोमवार जिल्लाका पत्रकारसँग भेटघाट गर्दै उनले सो कुरा बताएका हुन् । ‘नयाँ पुस्तालाई अघि सार्नुपर्छ भन्ने प्रयत्न गरेर पार्टीमा म संरक्षकको भूमिकामा मात्र छु, निर्वाचनको हकमा पनि सकभर नयाँलाई अघि सारेर जान पाए हुन्थ्यो भन्ने हो,’ उनले भने, ‘तर देशको राजनीति अझै तरल अवस्थामा रहेको र जटिल भू राजनीतिक परिस्थितीले मेरो आवश्यकता छ भन्ने महशुस गरायो ।’
नयाँ शक्तिहरु उदयले प्रष्ट राजनीतिक दिशा लिनुको सट्टा पुरानो र नयाँ बीचको द्धन्द्धमा सिर्जना भएको उनले बताए । एजेण्डासहितको नयाँ हुन नसक्दा उत्पन्न राजनीतिक अस्थिरतालाई सुल्झाउनका निम्ति अभिभावकीय भूमिका वहन गर्न पनि चुनाव लड्नु आवश्यक भएको उनले जिकिर गरे ।
बिदेशी शक्तिहरुको स्वार्थका कारण देशको स्वाधिनता र सर्वभौमसत्तामै प्रतिकुल असर पर्ने संकेत देखिएको बताउँदै उनले भने, ‘चीनजस्तो शक्ति, बिश्वको तेस्रो अर्थतन्त्र बन्न लागेको भारत शक्ति र अमेरिकी नेतृत्वको पश्चिमा शक्तिको स्वार्थ बाझिएको र यसले हाम्रो देशको स्वाधिनता र सार्वभौमसत्तामा प्रतिकुल असर पार्न सक्ने सम्भावना रहेकाले म जस्तो प्रधानमन्त्री भइसकेको मान्छे यस्तो बेलामा संक्रिया खालको भूमिका खेल्नुपर्ने आवश्यकता रहन्छ ।’
त्यसका निम्ति प्रतिनिधि सभा उच्च थलो रहेको उनले जानकारी दिए । सत्तामुखी नभई सेवामुखी राजनीति गरेकाले गोर्खाली जनताले फेरी एकपटक माया गर्ने उनको अपेक्षा छ । त्यसो त यसअघिका निर्वाचनमा गोरखाबाट बाबुरामले कहिल्यै हार व्यहोर्नुपरेको छैन । २०६४ सालको संविधानसभा निर्वाचनमा गोरखा २ बाट उनी सर्वाधिक मतसहित बिजयी भए ।
२०७० मा गोरखा १ बाट उनी निर्वाचित बने । २०७४ सालको निर्वाचनमा गोरखा २ बाट निर्वाचित उनले २०७९ सालको निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र प्रचण्डलाई छाडे । यसपटक उनी पुनः चुनावी मैदानमा उत्रिदै छन् । यसपटकको चुनाव जित्न उनलाई त्यही सहज भने देखिदैन । सशस्त्र द्धन्द्धकालका सहकर्मी लेखनाथ न्यौपानेदेखि गुण्डा नाइके मिलन चक्रेसम्म उनका प्रतिस्पर्धी छन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट न्यौपाने र नेकपा एमालेबाट चक्रे उम्मेदवार छन् । यता राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट कविन्द्र बुर्लाकोटी चुनावी मैदानमा उत्रदै छन् । यसअघि डा. भट्टराईलाई सहयोग गर्दै आएका पार्टीका केही नेता कार्यकर्ताहरु रास्वपा प्रवेश गरिसके । यो कुराबारे भट्टराई आफै जानकार छन् । तर उनीहरुको सदभाव अझै रहने उनको बिश्वास छ ।
हाल गोरखा २ को कुल मतदाता १ लाख ८ हजार ५३३ छन् । गोरखा २ बाट करिव ४६ हजार मत ल्याएर जित हासिल गरेका भट्टराइलाई अहिलेको परिस्थितीमा त्यो बिरासत कायम गर्न मुश्किल देखिन्छ । युवापुस्ताको रोजाईमा नयाँ अनुहार देखिन्छ । पुराना दलप्रतिको बितृष्णा र नयाँको खोजिका कारण पनि मत बाझिने सम्भावना बढी छ । तर गोरखाको बिकासमा आफ्नो योगदानलाई सम्झेर गोर्खाली जनताले एक पटक पुनः माया गर्नेछन् भन्ने आशमा डा. भट्टराई छन् ।




