| सोमवार, कार्तिक २३, २०८३

क्यान्सर विजेताहरुको साइकल यात्रा एक सत्कार्य

क्यान्सर अहिलेको विश्वको सबैभन्दा डरलाग्दो प्राणघातक रोग हो । यसको नामले नै बिरामी निराश हुन्छन् । यसले आक्रमण गर्नेवित्तिकै बिरामीमा हतोत्साही हुने, मनोबल कम हुने र मृत्यूको मुखमा पुग्ने सम्भावना हुन्छ । त्यतिमात्र होइन, यसको उपचार असाध्यै महंगो पर्छ । उपचार खर्च गर्दागर्दै भएभरको सम्पत्ति पनि स्वाहा भइसक्छ ।

त्यसैले यसको समाधान सामुहिक रुपमा गर्नु वुद्धिमानी हुन्छ ।
नेपालको विकट भूगोल र नागरिकको आर्थिक अवस्थालाई नियाल्दा क्यान्सर जस्तो घातक रोगको उपचार सामान्य परिवारको पहुँचभन्दा बाहिर देखिन्छ । यही मर्म र भावनालाई सम्बोधन गर्दै एक टोलीले मध्यपहाडी लोकमार्गमा क्यान्सर सचेतना र उपचार कोष स्थापनाका लागि साइकल यात्रा सुरु गरेको छ । यो साइकल यात्रा केवल एउटा यात्रा मात्र नभई सामाजिक परिवर्तनको एउटा बलियो र रचनात्मक कडी हो ।

क्यान्सरसँग जुध्न औषधिसँगै आत्मबल र सचेतना उत्तिकै महत्वपूर्ण हुन्छ । धेरैजसो ग्रामीण भेगमा समयमै रोग पत्ता नलाग्दा अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता छ । साइकल यात्रीहरूले गाउँ–बस्तीमा पुगेर छरेको सचेतनाको बीउले भोलि धेरैको जीवन रक्षा गर्न सक्छ । गो फाउण्डेशनमार्फत आर्थिक संकलन गरी धुलिखेल अस्पतालमा उपचार कोष खडा गर्ने उनीहरूको संकल्पले स्वास्थ्य सेवामा नागरिक स्तरबाट कस्तो योगदान दिन सकिन्छ भन्ने उत्कृष्ट उदाहरण पेश गरेको छ ।

यस्ता रचनात्मक कार्यक्रमहरूलाई राज्य र समाजका हरेक तप्काले प्रोत्साहन गर्नुपर्छ । सबै कुरामा राज्यको मुख मात्र नताकी नागरिक स्तरबाट गरिने यस्ता पहलले समस्या समाधानमा गति प्रदान गर्छ । धुलिखेल अस्पताल जस्तो सेवामूलक संस्थामा उपचार कोष स्थापना हुनुले विपन्न बिरामीहरूका लागि आशाको किरण जगाउँछ ।

स्वस्थ जीवनशैलीको सन्देशस् साइकल यात्रा आफैमा स्वास्थ्यका लागि फाइदाजनक छ, जसले मानिसहरूलाई शारीरिक व्यायाम र स्वस्थ जीवनतर्फ प्रेरित गर्छ । संकलित रकमले बन्ने अक्षय कोषले दीर्घकालसम्म बिरामीहरूलाई उपचारमा सहयोग पु¥याइरहनेछ ।

प्रतिक्रिया दिनुहोस्