
क्यान्सर प्रभावितको उपचार सहयोगार्थ मध्यपहाडी लोकमार्गमा साइकल यात्रा
क्यान्सर प्रभावित विपन्न नागरिकको उपचारमा सहयोगार्थ एक टोलीले मध्यपहाडी लोकमार्गमा साइकल यात्रा सुरु गरेको छ । साइकल कल्चर कम्युनिटी र धुलिखेल अस्पतालको सहकार्यमा यही पुस १७ गतेबाट यात्रा सुरु भएको हो ।
पाँचथरको चिवाभञ्ज्याङबाट सुरु भएको यात्रा बैतडीको झुलाघाट पुगेर टुंगिने छ । करिव १८ सय किलोमिटर दुरीको एक महिने यात्रामा १५ जनाको टोली सहभागी छन् । क्यान्सर बिजेता हर्क लामाले अगुवाई गरेको यात्रामा अर्का क्यान्सर बिजेता कविता चित्रकार, डा. बिकास पराजुलीसहितको टोली सहभागी रहेको बताइएको छ ।
यात्रा अवधिभर बिभिन्न ठाउँमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य शिविरसँगै जनचेतनामूलक कार्यक्रम पनि संचालन हुदै आएको प्रा.डा. सुमन ताम्राकारले बताए । ‘बिभिन्न ठाउँमा हामीले स्वास्थ्य शिविर पनि गरेका छौ,’ उनले भने, ‘जनचेतना पनि फैलाएका छौँ ।’
बिशेष गरी धुलिखेल अस्पतालमा उपचारका लागि आउने क्यान्सर प्रभावित विपन्न नागरिकको उपचारका लागि रकम संकलन गर्र्ने यात्राको प्रमुख उद्देश्य रहेको उनले जानकारी दिए । ‘हामीले एउटा कोष बनाएका छौँ, यात्रा अवधिभर संकलन भएको रकम कोषमा जम्मा हुन्छ र आउँदो माघ २१ गते विश्व क्यान्सर दिवसको अवसरमा त्यो रकम धुलिखेल अस्पताललाई हस्तान्तरण गर्छाै,’ उनले भने, ‘हामीले अस्पताललाई जत्ति दिन्छौं, अस्पतालले त्यति नै रकम थप गरेर क्यान्सर पिडितलाई उपचारमा सहयोग गर्ने कोष स्थापना गर्ने सम्झौता भएको छ ।’
यात्राको क्रममा उक्त टोली बुधवार गोरखा आइपुगेको हो । मंगलबार साँझ आरुघाट आएर बसेको टोली बुधबार भीमोदय मावि र भीमोदय क्याम्पसमा क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम गर्दै पालुङटार नगरपालिका पुगेको थियो । नगरपालिकाका जनप्रतिनिधिहरुले उनीहरुलाई स्वागत समेत गरेका थिए । मेयर विवश चिन्तन, उपमेयर बन्दना पाण्डे, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी लगायतको टिमले उनीहरुलाई स्वागत गरेको हो ।
पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, दिक्तेल, सिन्धुपाल्चोक, नुवाकोट हुँदै १३ औं दिनमा टोली गोरखा आइपुगेको हो । उनीहरु वधुवार नै लम्जुङ सुन्दरबजार पुगेका छन् ।




