| सोमवार, कार्तिक २३, २०८३

श्रृंखलावद्ध चोरीको आरोपमा एक युवक पक्राउ

आरुघाट गाउँपालिकामा भएको श्रृंखलावद्ध चोरीको घटनामा संलग्न रहेको आरोपमा धार्चे गाउँपालिका–५ का रनबिर भनिने रम्बिस गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । १९ बर्षिय गुरुङलाई मंगलवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यही पुस ७ गते आरुघाट गाउँपालिका–१० स्थित डाँडागाउँ स्वास्थ्य केन्द्र र स्थानीय सकुन्तला खत्रीको घरमा चोरी भएको थियो । भोलिपल्ट वडा नम्वर ७ चुरुङस्थित कर्णबहादुर मगरको घर पसल चोरी भयो । यी दुवै घटनामा संलग्न रहेको आरोपमा गुरुङलाई पक्राउ गरिएको डिएसपी राजकुमार श्रेष्ठले बताए । उनका अनुसार गुरुङको साथबाट ताल्चा फोर्न प्रयोग हुने बिभिन्न औजारसहित सुनको बेरुवा रिङ दुई थान, गकुल मुन्द्रा, लकेट र सुनजस्तो पहेलो धातुबाट बनेको सिक्रि एक÷एक थान बरामद भएको छ ।

त्यस्तै नेपाल टेलिकमको प्रयोग नभएको १०० रुपैयाको रिचार्ज २० थान, ५० रुपैयाको रिचार्ज २६ थान, एनसेलको १०० रुपैयाको रिचार्ज १७ थान र ५० रुपैयाको ३२ थान रिचार्ज कार्ड बरामद गरिएको प्रहरीले जनाएको छ । उनको साथमा साउदी रियल, भारतिय र नेपाली रुपैया समेत फेला परेको बताइएको छ । पक्राउ परेका गुरुङबिरुद्ध चोरी शीर्षकमा मुद्दा दर्ता गरी पाँच दिनको म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्