| सोमवार, कार्तिक २३, २०८३

गोरखा–गोरखपुरलाई गोरखनाथ मार्गका रुपमा विकास गरौं

नेपाल र भारतबीचको सम्बन्ध केवल राजनीतिक वा कूटनीतिक सीमामा मात्र सीमित छैन । यो त सदियौँदेखिको साझा संस्कृति, धर्म र परम्पराको जगमा उभिएको छ । यसै ऐतिहासिक कडीको एउटा जीवन्त उदाहरण हो— गोरखाको गोरखनाथ मन्दिरदेखि भारतको गोरखपुरस्थित गोरखनाथ मन्दिरसम्मको ‘खिचडी यात्रा’ । पृथ्वीनारायण शाहको पालादेखि सुरु भएको यो प्राचीन परम्पराले पछिल्लो पुस्तालाई आपसी सम्बन्धको पुनर्जागरण गराउँछ । त्यसैले यसले निरन्तरता पाउनु राष्ट्रिय गौरव र धार्मिक पर्यटनका दृष्टिले सुखद पक्ष हो ।

गोरखाका गोरखनाथ र गोरखपुरका गोरखनाथ बीचको सम्बन्ध आध्यात्मिक रूपमा अभिन्न मानिन्छ । गोरखाबाट लगिएको खिचडीको सर्जाम (चामल, दाल, घिउ र मरमसला) माघीको बिहान ब्रह्ममुहूर्तमा गोरखपुरको मन्दिरमा चढाएपछि मात्र त्यहाँको प्रसिद्ध खिचडी मेला विधिवत् सुरु हुनुले हाम्रो सांस्कृतिक ओजलाई झल्काउँछ । यसले नेपालको गोरखा जिल्ला नै नाथ सम्प्रदाय र गोरखनाथको उद्गम र शक्तिपीठ हो भन्ने ऐतिहासिक तथ्यलाई पुनः स्थापित गरेको छ ।

साथै यसले दुई देशका नागरिकबीच रहेको प्राचीन भावनात्मक र धार्मिक साइनोलाई थप मजबुत बनाउँछ । त्यस्तै गोरखपुरमा खिचडी मेला भर्न आउने लाखौँ भारतीय श्रद्धालुहरूलाई गोरखाको महत्व वोध गराउँछ, जसले उनीहरुलाई गोरखामा आकर्षित गर्न यो यात्रा एउटा बलियो माध्यम बन्न सक्छ । ‘जहाँबाट खिचडी आउँछ, त्यो ठाउँ कस्तो होला ?’ भन्ने जिज्ञासाले भारतीय पर्यटकलाई नेपाल , गोरखा भित्र्याउन मद्दत पुग्छ ।

आधुनिकताको भिडमा ओझेलमा परेका पृथ्वीनारायण शाहकालीन परम्पराहरूको संरक्षण हुनु आफैँमा ऐतिहासिक सम्पदाको जगेर्ना हो । त्यसैले यसलाई व्यवस्थित बनाउन सरकार, स्थानीय तह र पर्यटन बोर्डले विशेष चासो देखाउनु आवश्यक छ । गोरखादेखि गोरखपुरसम्मको यो मार्गलाई ‘नाथ सर्किट’ वा ‘गोरखनाथ मार्ग’का रूपमा विकास गर्न सके धार्मिक पर्यटनमा नयाँ आयाम थपिने निश्चित छ ।

हुनत गोरखाको खिचडीले गोरखपुरको भोक मेटाउँदैन, तर यसले दुई देशबीचको सद्भावको स्वादलाई मीठो बनाउँछ । यस्ता सांस्कृतिक सेतुहरूलाई जोगाइराख्नु र यसलाई आर्थिक समृद्धिसँग जोड्नु आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्