| शुक्रबार, बैशाख १७, २०८३

जंगली जनावरबाट २०४ घरपालुवा पशु मारिए, ११ लाख क्षतिपूर्ति रकम वितरण गरिँदै

प्रतीक्षा आले ।
गोरखामा जगंली जनावरको आक्रमणबाट २०४ घरपालुवा जनावरको मृत्यु भएको छ । मृत्यु भएका घरपालुवा जनावरको क्षतिपूर्ति बापत डिभिजन वन कार्यालय गोरखा जिल्लाभर ११ लाख २६ हजार रुपैँया रकम वितरण गर्ने तयारीमा छ ।
आर्थिक वर्ष २०८१/०८२ मा राहत पाउन बाँकी र आव २०८२/०८३ को हालसम्ममा बन्यजन्तुबाट घरपालुवा पशुधनमा भएको क्षतिबापत वन कार्यालयले उक्त क्षतिपूर्ति रकम वितरण वितरण गर्न लागेको जनाएको छ ।

यस आर्थिक वर्ष २०८२/०८३ को हालसम्ममा वन्यजन्तुको आक्रमणबाट जिल्लाभर १४८ वटा घरपालुवा जनावरको मृत्यु भएको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदन मोहन शाण्डिल्यले बताए । ‘वन्यजन्तुबाट मारिएकामा अधिकांश बाख्राहरु रहेका छन् । बाख्राको संख्या मात्र ९० प्रतिशत भन्दा बढी छ । अरु राँगो, भैँसी र कुखुरा आदि छन्’, उनले भने, ‘मनासलु संरक्षण क्षेत्रबाहेक गोरखामा अधिकांश चितुवाबाटै पशुधन तथा मानवीय क्षति हुने गरेको पाइएको छ ।’ कार्यालयले वन्यजन्तुको आक्रमणबाट घाइते भएकाहरुलाई पनि उपचारखर्च उपलब्ध गराउने गरेको उनले जानकारी दिए ।

डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८०/०८१ र आर्थिक वर्ष २०८१/०८२ को पुस मसान्तभित्र वन्यजन्तुले घरपालुवा पशुचौपायामा पु¥याएको क्षतिबापत जिल्लाभर २४५ जना पशुधनीलाई ३३ लाख ६९ हजार ५०० रुपैँया रकम राहत स्वरुप वितरण गरेको थियो । यस्तै, आर्थिक बर्ष २०८१/०८२ को पुसदेखि बैशाखसम्ममा ६३ जनालाई ८ लाख ५५ हजार ५०६ रुपैँया र रकम वितरण गरेको छ ।

‘बैशाखदेखि असारसम्ममा वन्यजन्तुले घरपालुवा पशुधनमा पु¥याएको क्षतिबापतको रकम दिन बाँकी ३१ जनालाई चार लाख ५ हजार ८५० रुपैँया र चालु आर्थिक वर्षको हालसम्ममा वन्यजन्तुको आक्रमणबाट जिल्लाभर मृत्यु भएका १४८ वटा जनावरको राहत रकम बापतको सात लाख २० हजार रुपैँया वितरण गर्ने तयारीमा छौँ’, डिएफओ शाण्डिल्यले भने । उक्त रकम केही दिनमा वितरण गर्ने तयारी रहेको उनको भनाई छ ।

राहत वितरण निर्देशिका अनुसार १४ वटा वन्यजन्तुबाट मानवीय र पशुधन क्षति भएमा राहत पाउने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्