| शनिबार, बैशाख २५, २०८३

पृथ्वीनारायण शाह र शुभ घाट

यदुप्रसाद अधिकारी ।

नेपाल आमाले जन्म दिएकी शूरबीरमध्ये वडामहाराज धिराज पृथ्वीनारायण शाह पनि एक हुन् । नेपालका एकीकरण कर्ता राष्ट्र निर्माता शाहको जन्म १७७९ साल पौष २७ गते शुक्रवार गोरखा दरवारमा भएको थियो । ६ वर्षको उमेरमा गोरखनाथबाट आर्शीबाद पाएका यीनले नौ वर्षमा चण्डी पढ्न सक्ने भएका थिए । ११ वर्षमा यिनको ब्रतबन्ध धादिङको मैदीमा भएको थियो । हर्षा मिश्रले गायत्री र भानु अर्यालले दीक्षा मन्त्र सुनाएका थिए भने कुलानन्द ढकालले ज्योतिषको ज्ञान दिलाएका थिए ।

यिनलाई १७९९ साल चैत्र २५ गते राम नवमीमा गोरखाको राजा भएपछि राज्याभिषेक गरिएको थियो । यिनले गोरखा दरवारबाट शासन चलाउँदा ६ थर,७ थोक, १२ थर, ७ धुरेको सल्लाहमा चलाएका थिए । महत्वाकाङ्कक्षी यी राजाले दुई पटक (१९९४ + १८००) पराजित भएको काठमाण्डौ शासित नुवाकोटलाई हमला गर्न, वनारसबाट विसे नगर्ची र गोरखालीहरुको सहयोगमा हतियार बनाउन र तालिम दिन भेखासिंह, शेख जावर र महम्द ताजी गोरखा ल्याएका थिए ।

१९०१ असोजमा धादिङ्गको खिन्चेतमा दिउँसो कुलो बनाउने काम गरे झै गरे । त्यसपछि नुवाकोटलाई कसरी आक्रमण गर्न सकिन्छ भनेर अवलोकन पनि गरेका थिए । अहिले पनि त्यो ठाउँ कुलो छेडे चर्चित छँदैछ । १८०१ असोज १५ गते राति शुभ घाटमा जलुवा माझीले सिमल काटेर डुङ्गा बनाएर शुभघाटबाट त्रिशुली नदी तारिदियो ।

माझीको सहयोगले १००० जना गोरखाली शुभ घाटबाट नुवाकोट आक्रमण गर्न गए । गोरखालीहरुले तीन तिरबाट हमला गरे । स्वयं पृथ्वीनारायणले भैरवी थानबाट नेतृत्व गरेर नुवाकोट विजय गरे । भैरवीको दर्शन गरी नुवाकोटको राजगद्दीमा बसे ।

त्यस पछि गोरखाबाट राजधानी नुवाकोट सारी नुवाकोटबाट १८२५ असोज १२ सम्म शासन चलाए । १८२५ असोज १३ गते इन्द्र जात्राको दिनमा कान्तिपुरमा हमला गरी विजय गरे । त्यसपछि राजधानी काठमाण्डौ सारी हनुमान् ढोकाको बसन्तपुरबाट शासन चलाएका थिए । पृथ्वीनारायणले गोरखाबाट शुभघाट तरी नुवाकोट र कान्तिपुर विजय गरेर ३ ठाउँ (गोरखा, नुवाकोट र काठमाडौँ हनुमान ढोका)बाट शासन चलाएका थिए । त्यसैले यिनलाई श्री ५ वडामहाराज धिराज भनेर नेपालीहरुले सम्मान गरेका छन् ।

वीर, पराक्रमी, साहसी, राष्ट्रवादी, कुशल सेनापति यी राजाले नेपालको बाईसे, चौबीसे र उपत्यकालाई एकीकरण गरी विशाल नेपाल बनाएका थिए । जीवनको अन्तिम घडीमा नुवाकोट गए । तादी र त्रिशुलीको संगमस्थल देवीघाटमा १८३१ माघ १ गते यिनको असमायिक निधन भएको थियो । त्यहाँ नै यिनको अन्त्यष्टि गरियो । यिनको मृत्युको बारेमा धेरै तर्क गरेका छन् । कसैले हैजाको रोगले, कसैले नुवाकोट दरबारबाट झर्दा बाघले आक्रमण गरेर घाइते भई निधन भयो भनेका छन् ।

यिनले सैनिक संगठन ७ काजी २७ खुँडा, एक काजी २० सुबेदार, ११० नायक र २२०० सिपाहीको व्यवस्था गरी जम्मा २३२० जनाको व्यवस्था गरेका थिए । यिनको प्रशंशा गरेर मृत्यु पछि सन् १७७२ दिल्लीका वादशाहले बहादुर शम्शेर जङ्ग पदवी दिएका थिए भनी इतिहासकारहरुले प्रशंसा गरेका छन् । हरेक पौष २७ गते वडामहाजधिराज पृथ्वी नारायण शाहको शुभजन्मोत्सव सबै नेपालीहरुले हर्षोल्लासमय तरिकाले मनाइरहेका छौ । नेपाली सेनाले पृथ्वी नारायण शाहले एकीकरण गर्दा हिडेका बाटा गोरखा, धादिङ् शुभ घाट, नुवाकोट र काठमाण्डौंलाई एकीकरण पदमार्ग घोषणा गरी २०७६ बाट यात्रा गरिरहेका छन् ।
त्यसपछि पृथ्वीनारायण शाहको नेतृत्वमा निम्न ठाउँहरुमा आक्रमण गरी विजयी गरेको देखिन्छ ।
नुवाकोट तेस्रो पटक विजय, १८०१ देखि १८२५ सम्म राजधानी नुवाकोट, बेलकोट विजय
१. १८०३ भाद्र १९ नालदुङ र महादेव पोखरी विजयी (त्यसबखत नगरकोट नाम थिएन । यो विजय टिकेन)
२. १८०८ ललितपुरको झिल्तुङ विजय ।
३. १८०९ मा दहचोक विजय र शासन । १८०९, चैतको पहिलो हप्ता–दहचोक ।
४. १८११ नालदुङ महादेव पोखरी–धर्मस्थली ।
५. १८१४ जेठ १९–किर्तिपुरमा पहिलो हमला ।
६. १८१६ असार २१–शिवपूरी, १८१६ माघ १–काभ्रेकोट ।
७. १८१८ जेठ ३०–चौकोट ।
८. १८१९ भाद्र ९–मकवानपुर, १८१९ असोज २–कोटतिमाल ।
९. १८१९ असोज ९ र २० गते सिन्धुलीको लडाईँ ।
१०. १८१९ असोज २२–जत हरिहरपुर गडी ।
११. १८१९ असोज २२–परेवाकोट गडी ।
१२. १८१९ असोज ५ मा श्रीनाथ, कालीबक्स र नौँ गते बर्जवाणी र सबोज खडा । १० गते गोरख । (मिरकासिमलाई हराएपछि मात्र यी पाँच कम्पनी खडा भएका थिए ।)
१३. १८१९ माघ १०–मिरकासिममाथि विजय, नेपालको इतिहासमा मुसलमान सेनालाई हराएको पहिलो पटक हो ।
१४. १८१९ फागुन ५–खुँडाघाट विजय र दिगबन्धनको आत्मसर्मपणता ।
१५. १८२० कात्तिक १० गते धुलिखेल, १५ गते रानीकोट ।
१६. १८२० कात्तिक २० गते फर्पिङ ।
१७. १८२१ असोज ४ गते किर्तिपुरको दोस्रो हमला ।
१८. १८२२ चैत ३ गते किर्तिपुर विजय ।
१९. १८२४ असोज १५ गते क्यापटेन किनलकको सेनालाई हराएको । पहिलो नेपाल अङ्ग्रेज युद्ध ।
२०. १८२५ असोज १३ गते कान्तिपुर विजय र काठमाडौँमा राजधानी सारी हनुमान ढोकाबाट शासन थालनी ।

पृथ्वीनारायण शाहले सबै नेपालीहरुको नेतृत्व गरेर नेपाललाई चार वर्ण, ३६ जातको फुलबारी मानेका छन् । यिनले दिएका अर्ती उपदेशहरु दिव्योपदेशमा छापिएको छ । नेपालको एकिकरण गर्न १६ वर्षदेखि ३० वर्षसम्मका पुरुषहरुलाई सैनिकमा अनिवार्य भर्ती गराएका थिए । यिनका पुर्खाले बसालेको थितिलाई यिनले मनन् गर्दै नेपालको शासन चलाएका थिए । यिनले गर्दा नै आज हामी नेपाली भएर गर्व गर्न पाएका छौँ । यस्ता राष्ट्रवादी वीर सपुत्लाई हरेक पौष २७ गते हृदयदेखि नै तीन करोड नेपालीले हार्दिक भावपूर्ण श्रद्धाञजली चढाउँदछौँ ।

प्रतिक्रिया दिनुहोस्