
जातजातिको संरक्षित र विशेष क्षेत्र माग गर्दै ‘दशौँ जिल्ला सभा’ सम्पन्न
विभिन्न जातजातिको संरक्षित क्षेत्र घोषणा गर्ने प्रस्ताव गण्डकी प्रदेशसंग माग गर्ने निर्णय गर्दै गोरखाको ‘दशौँ जिल्ला सभा’ सम्पन्न भएको छ । शुक्रबार सम्पन्न सभाले विभिन्न पालिकाहरुलाई विभिन्न जातजातिहरुको संरक्षित क्षेत्र तोक्न गण्डकी प्रदेश सभामा पेश गर्ने निर्णय गरेको हो ।
सो प्रस्ताब सहिदलखन गाउँपालिकाका अध्यक्ष रमेश थापाले जिल्ला सभामा पेश गरेका थिए । उनको प्रस्ताबअनुसार सहिदलखन र गण्डकी गाउँपालिकालाई चेपाङ विशेष क्षेत्र/बराम र माझी संरक्षित क्षेत्र तोक्नुपर्ने माग गरिएको छ । यस्तै, बारपाकसुलिकोट, आरुघाट र भिमसेनथापा गाउँपालिकालाई बराम विशेष क्षेत्र, गोरखा नगरपालिका, पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकालाई कुमाल तथा मुश्लिम संरक्षित क्षेत्र, चुमनुब्रीलाई भोटेलामा विशेष क्षेत्र तथा अजिरकोट र गण्डकी गाउँपालिकालाई भुजेल संरक्षित क्षेत्र तोक्नुपर्ने प्रस्ताव सभामा पेश भएको थियो । सभाले यी प्रस्तावहरु सिफारिस गरी प्रदेश सभामा पेश गर्ने निर्णय गरेको छ ।
सभामा गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानाले सहकारीबाट ऋण लिएका ऋणीहरुको रोक्का रहेका जग्गा फुकुवा गर्ने नीतिगत निर्णय प्रदेश सभामा सिफारिस गरी पठाउने प्रस्ताव पनि पास भएको छ । रकम तिर्ने तथा सोको फुकुवा गर्ने निकाय नै नभएकाले ऋणीहरुको जग्गा हालसम्म पनि रोक्का रहेको भन्दै रानाले त्यस्तो प्रकृतिका जग्गाहरु फुकुवा हुनुपर्ने प्रस्ताव गरेका थिए । सभाले उक्त प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ ।
जिल्ला सभाका अध्यक्ष एवं जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापाले समितिको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा सभाको उपाध्यक्ष एवं जिल्ला समन्वय समितिकी उपाध्यक्ष लिला परियारले समन्वय समितिको आर्थिक वर्ष २०८१/८२ को प्राप्त बजेट र खर्च तथा आ.व २०८२/०८३ को प्रस्तावित बजेट अनुमोदन गर्ने निर्णय गरेकी थिइन् ।
जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापाको अध्यक्षतामा सम्पन्न दशौँ जिल्ला सभामा समन्वय उपप्रमुख लिला परियार, जिल्लाका सबंै पालिकाहरुको प्रमुख एवं उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, पालिकाका कर्मचारी एवं जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।




