
न्यू टेलर्स लोगोको बार्षिक उत्सवमा वक्तृत्वकला प्रतियोगिता
सदरमुकामको जिविसचोकमा रहेको ‘न्यू टेलर्स् लोगो’ ले जिल्लास्तरीय बक्तृत्वकला प्रतियोगिता गरेर आफ्नो ११ औँ वार्षिक उत्सव कार्यक्रम मनाउने भएको छ । यही माघ १ गते ‘अनुशासन, सम्मान र पहिचानमा औपचारिक पोशाकको भूमिका’ विषयक बक्तृत्वकला प्रतियोगिता गरेर आफ्नो ११ औँ वार्षिकउत्सव मनाउने न्यू टेलर्स लोगोका संचालन बालकृष्ण परियारले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिए ।
आफ्नो व्यवसायले ११ औँ बसन्त पार गरेको उपलक्ष्यमा केही भिन्न र रचनात्मक कार्यक्रम गरेर वार्षिक उत्सव मनाउन लागेको उनले जानकारी दिए । प्रतियोगितामा ३० वर्ष माथिका जो कोहीले सहभागिता जनाउन पाउने परियारले बताएका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुले क्रमश रु ८ हजार, ७ हजार र ६ हजार बराबरको कोट, ब्लेजर र प्रमाणपत्र प्राप्त गर्ने उनको भनाइ छ । वार्षिक उत्सवकै अवसरमा परियारले आफ्नो व्यवसायिक जीवनमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा साथ सहयोग गर्नेहरुलाई सम्मान कार्यक्रम आयोजना गरेका छन् ।
‘११ औँ वार्षिक उत्सवको उपलक्ष्मा यही माघ १ देखि ५ गतेसम्म सुट अर्डर गर्नेहरुलाई १५ प्रतिशत छुट पनि दिने छौँ’, उनले भने, ‘हाम्रो न्यू टेलर्स् लोगोले हरेक महिना सुट सिलाउनेहरुको गोला प्रथा गरेर एक सेट सुट निशुल्क रुपमा वितरण गर्ने पनि गरेका छौँ ।’
२०७१ सालबाट टेलरिङ्ग व्यवसायमा आएका परियारले हाल ६ जनालाई रोजगारी समेत दिईरहेका छन् । उनी लियो जिल्ला परिषद ३२५ जे नेपालका अध्यक्ष हुन् भने टेलरिङ्ग व्यवसायी संघ गण्डकी प्रदेशका वर्तमान अध्यक्ष पनि हुन् ।




