| शुक्रबार, बैशाख १७, २०८३

दरौँदी बगरमा एक सातादेखि अवैध रुपमा ढुङ्गा उत्खनन्

दरौँदी नदीको बगरमा विगत एक हप्तादेखि अवैध रुपमा ढुङ्गा उत्खनन् भैरहेको छ । गोरखा नगरपालिका वडा नं १२ स्थित १० किलोदेखि अबुवा सडकखण्डको दरौँदी नदीमा अवैध तरिकाले ढुङ्गा उत्खनन् भैरहेको स्थानियहरुले गुनासो गरेका छन् ।

सो सडकखण्डको दरौँदी नदीबाट दैनिक २५–३० ट्रयाक्टर ढुङ्गा उत्खनन् भैरहेको अबुवाका एक स्थानीयले बताए । नाम गोप्य राख्न अनुरोध गर्दै उनले भने, ‘हरेक दिन ६–७ वटा ट्रयाक्टरले धमाधम ढुङ्गा ओसारेको ओसारै छ । दैनिक एउटा ट्रयाक्टरले कम्तीमा पनि ४–५ टिप ढुङ्गा बोक्छ । हामी स्थानीयहरुले किन निकालेको भनेर सोधी खोजी गर्दा ‘हामीसँग कागज छ’ भनेका छन् । यहाँ ढुङ्गा झिकेर दुईवटा ट्रयाक्टर पालुङटारतिर जान्छ, बाँकीले भने गोरखातिर ओसारेको छ ।’

दैनिक ठूलो परिमाणमा अवैध रुपमा नदीजन्य सामग्री उत्खनन् गर्दा नियम कानूनको धज्जी उँडाएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । ‘हप्ता १० दिन भैसक्यो यसरी दैनिक ढुङ्गा निकालेको, हालसम्म सोधखोज गर्न कोही सरोकारवाला आएका छैनन्’, उनले भने, ‘भएभरको नदीजन्य सामग्री अवैध रुपमा ओसारपोसार भएपछि नगरपालिकाले ठेक्का लगाउँदा ठेक्का नलाग्न सक्छ ।’ उक्त क्षेत्रमा यसअघि पनि अवैध रुपमा ढुङ्गा उत्खनन् हुने गरेको स्रोतको भनाई छ ।

गोरखा नगरपालिका वडा नं १२ का वडाअध्यक्ष दिलबहादुर थापाले भने आफूलाई यो विषयमा जानकारी नभएको बताएका छन् । गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले नगरपालिकाले यो आर्थिक वर्ष नदिजन्य पदार्थ उत्खनन्का लागी ठेक्का नलगाएको जानकारी दिए ।

‘नदीजन्य सामग्रीको ठेक्का लगाउने प्रक्रियामा छौँ । ठेक्का लगाइसकेको अवस्थाचाँहि छैन्’, उनले भने, ‘नगरपालिकाले उपभोक्ता समितिमार्फत संचालन भएको साना–तिना आयोजनाहरुलाई आयोजना नजिकैको क्षेत्रमा पर्ने थोरै मात्रामा ढुङ्गा संकलन गर्ने अनुमति दिएको छ । त्यो बाहेक यसरी ट्रयाक्टरका ट्रयाक्टर ढुङ्गा उत्खनन् गर्ने अनुमति कसैलाई दिएका छैनौँ ।’

यस विषयमा आवश्यक छानबिन गर्ने उनले बताएका छन् । नगरपालिकाले हरेक २ देखि ३ वर्षमा नदीजन्य पदार्थको ठेक्का नविकरण गर्ने र प्रारम्भिक वातावरणीय परिक्षण (आई.ई.ई) गर्ने गरेको खनालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्