| सोमवार, कार्तिक २३, २०८३

हजार घरधुरी लामो समयसम्म अन्धकारमा रहनु दुखद

गोरखाका हिमाली भेगका करिब एक हजार घरधुरी विगत तीन हप्तादेखि अन्धकारमा बस्न बाध्य छन् । चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, जगत, सल्लेरी, भालुवन र धार्चे गाउँपालिकाका रुञ्चेत एवं केरौंजाका बासिन्दाहरूले विद्युत सेवा अवरुद्ध हुँदा भोग्नुपरेको सास्ती निकै कष्टकर छ । उनीहरु यो सताव्दीमा पनि टुकी बालेर गुजारा चलाउन बाध्य छन् ।

स्थानीय लघुजलविद्युत आयोजनाका टर्बाइनहरू बिग्रनु र त्यसको समयमै मर्मत हुन नसक्नुले स्थानीयबासी सकसपूर्ण अबस्थामा छन् । अहिलेको आधुनिक युगमा विद्युत केवल उज्यालोका लागि मात्र होइन, सूचना, सञ्चार, शिक्षा, स्वास्थ्य, विभिन्न यान्त्रिक उपकरण जस्ता आधारभूत आवश्यकतासँग प्रत्यक्ष जोडिएको विषय हो ।

तीन हप्तासम्म विद्युत नहुँदा विद्यार्थीको पढाइ पनि उत्तिकै प्रभावित भएको छ भने मोबाइल तथा सञ्चार सेटहरू चार्ज गर्न नपाउँदा देश दुनियाँसँगको सम्पर्क विच्छेद हुने अवस्था सिर्जना भएको छ । विशेषगरी हिउँदको चिसो समयमा हिमाली भेगका बासिन्दाका लागि विद्युतको अभावले दैनिक भान्सादेखि कुटानी–पिसानीसम्मका काममा थप बोझ थपेको छ । त्यस्तै चिसोका बेला न्यानो गराउने उपकरणको अभावमा स्थानीयबासीले थप समस्या झेलिरहेका छन् ।

यो समस्याको मुख्य जड बिग्रिएको टर्बाइन मर्मत गर्न नेपालमा सम्भव नहुनु र भारतबाट सामान आयात गर्नुपर्ने वा उतै लैजानुपर्ने प्राविधिक बाध्यता भनिएको छ । एउटा सामान्य मर्मतका लागि छिमेकी मुलुकको भर पर्नुपर्ने र हप्तौंसम्म नागरिकले सास्ती खेप्नुपर्ने अवस्था दुःखद छ । यसले हाम्रा आयोजनाहरूको दिगोपन र प्राविधिक तयारी कति फितलो छ भन्ने देखाउँछ । अझै यातायातको सेवा नपुगेको सामागाउँको टर्बाइन त लाखौं खर्च गरी हेलिकोप्टरमा झुण्ड्याएर लैजानु पर्ने र ल्याउनु पर्ने अबस्था छ ।

चुमनुब्री, धार्चे गाउँपालिका तथा कादुरी नामक संस्था र उपभोक्ता समितिले यसलाई केवल एउटा प्राविधिक समस्याका रूपमा मात्र नहेरी आपतकालीन अवस्थाका रूपमा लिनुपर्छ । बजेट र समन्वयको अभावमा मर्मत कार्य रोकिनु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्