| शुक्रबार, बैशाख १७, २०८३

नयाँ बासस्थानतिर सर्ने तर्खर गर्दैै सल्लेरीबासी

गाउँमा जलविद्युत आयोजना बन्ने भएपछि चुमनुब्री गाउँपालिका ३ सल्लेरीबासी नयाँ बासस्थानतिर सर्ने तर्खर गर्दैछन् । गाउँमा ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना बन्ने भएपछि स्थानीय २९ घरका बासिन्दा जगत, पैयूँ, फिलिम लगायतका आसपासका बस्तीहरुमा स्थानान्तरण हुन थालेका वडाअध्यक्ष रामकुमार गुरुङले जानकारी दिए ।

उनकाअनुसार अहिलेसम्म पाँच घरले पुरानो थातथलो भत्काएर नयाँ ठाउँमा बसोबास गरिसकेका छन् । अरु घरवालाहरु पनि छिटोछिटो स्थानान्तरणको प्रक्रियामा रहेका उनको भनाइ छ । ‘चार घर पैयूँमा सरिसके’, वडाअध्यक्ष गुरुङले भने, ‘एक घर परिबार फिलिममा सरिसक्यो । अरु घरहरु पनि केही दिनभित्रै सर्दैछन् ।’ पुरानो घरको काठपात लगायत कामलाग्ने बस्तु नयाँ ठाउँमा लगेर घर बनाइरहेका उनले बताए ।

सल्लेरी मनास्लु पर्यटकीय पदमार्गमा पर्ने बजार हो । यहाँ स्थानीयबासीले लाखौं लगानी गरेर पर्यटक लक्षित होटल व्यवसाय पनि गर्दै आएका थिए । तर गाउँमै जलविद्युत आयोजनाको बाँध बन्ने भएपछि बस्ती विस्थापित हुन लागेको हो । आयोजनाले उनीहरुलाई प्रतिआना तीनलाख रुपैयाँका दरले मुआव्जा निर्धारण गरी वितरण गरिसकेको छ । चार आनाभन्दा कम जग्गा हुनेहरुलाई थप एकलाख अथवा चार लाख प्रतिआनाका दरले मुआव्जा दिएको थियो ।

सल्लेरी बजार बाहिरको जग्गाको भने प्रतिआना डेढलाख रुपैयाँका दरले मुआव्जा दिएको थियो । त्यहाँका करिब ८० रोपनीजग्गा र घरको मुआव्जा दिएपछि स्थानीयबासीले वैकल्पिक बासस्थानको जोहो गरेका छन् । मङ्सीर महिनाभित्र बस्ती खालि गरिसक्ने सम्झौता भएको थियो ।

‘तर विविध कारणले स्थानीयहरु मङ्सीरभित्र स्थानान्तरण हुन नसकेपछि पुसभित्र स्थानान्तरण हुने भनेर म्यादथप भएको छ’, आयोजनाका इञ्जिनियर गोपीचन्द्र ढुंगानाले भने, ‘थप भएको समयभित्र उहाँहरु सरिसक्नु हुन्छ भन्ने विश्वास छ ।’ अर्ध जलाशययुक्त (पिकिङ रन अफ रिभर) प्रविधिको यो परियोजना निजी क्षेत्रबाट सञ्चालित नेपालको सबैभन्दा ठूलो परियोजना हो ।

साहस उर्जाले सल्लेरीमा बाँध बाँधी ६.८ किलोमिटर भूमिगत सुरुङ हुँदै धार्चे ३ को तातोपानी स्थित पावर हाउसमा ३४१ मेगावाट विद्युत उत्पादन गर्ने जनाएको छ । सो विद्युत ४५ किलोमिटर लामो प्रशारण लाइनमार्फत नुवाँकोटको रातामाटे सवस्टेशनमा लगी केन्द्रीय प्रशारणमा जोडिनेछ ।

७० अर्ब रुपैयाँ लगानीमा साहस ऊर्जाको मुख्य लगानी र टाइम्स इनर्जीद्वारा प्रवद्र्धित सो परियोजनाका लागि विभिन्न १० बैंकबाट ५२ अर्ब ५० करोड रुपैयाँ कर्जा स्वीकृत भएको छ । यो परियोजनामा साहसको १७ अर्ब ५० करोड रुपैयाँ अर्थात् ५१ प्रतिशत लगानी हुनेछ । कम्पनीले २०८७ सालको पुस १५ सम्म विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको हिम पाठकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्