
काशीगाउँको हावापानीमा सुन्तला खेती फस्टाउँदै
प्रतीक्षा आले ।
उत्तरी गोरखाको उच्च पहाडी क्षेत्र धार्चे गाउँपालिका–६ काशीगाउँमा सुन्तला खेती फस्टाउँदै गएको छ । काशीगाउँको तल्लो क्षेत्रमा सुन्तला खेती फस्टाएको गाउँपालिकाको कृषि शाखा प्रमुख अनिल नेपालीले बताए ।
केही बर्षअघि लगाएको सुन्तलाले उत्पादन दिन थालेपछि काशीगाउँका अधिकांश किसानले सुन्तला खेती सुरु गरेका उनले जानकारी दिए । ‘कसै–कसैले व्यवसायिक रुपमै लगाएका छन् । आफू खानका लागि त प्रायः सबैले खेती गरेका छन्’, उनले भने, ‘व्यवसायिक रुपमा सुन्तला खेती गर्नेहरुलाई पालिकाले उत्पादनमा आधारित अनुदान पनि दिएको छ ।’ काशीगाउँमा स्थानीय कान्छा गुरुङले व्यक्तिगत रुपमा व्यवसायिक सुन्तला खेती गर्दै आएको नेपालीले जानकारी दिए । यस्तै, कोरिङ कृषक समूहले सामूहिक रुपमा व्यवसायिक सुन्तला खेती सुरु गरेको उनको भनाइ छ ।
काशीगाउँमा सुन्तला खेती फस्टाउँदै गएपछि आफूहरुले समूह दर्ता गरेर व्यवसायिक खेती सुरु गरेको कोरिङ कृषि समूहका अध्यक्ष लक्ष्मण घलेले बताए । काशीगाउँको तल्लो क्षेत्र कोरिङमा करिब ५०० बोट सुन्तला लगाएको उनले जानकारी दिए । ‘माथि गाउँमा चिसो हावापानीले गर्दा सुन्तला खेती हुँदैन, यता बेशीमा भने मज्जाले फल्ने रहेछ’, उनले भने, ‘यहाँ सुन्तला खेतीको राम्रो सम्भावना देखेपछि हामी १२ जना मिलेर समूह दर्ता गरेर व्यवसायिक खेती सुरु गरेका हौँ ।’ कोरिङ कृषि समूहले सुन्तलासँगै किबी खेती पनि सुरु गरेको घले बताउँछन् ।
आफूहरुले ६ वर्षअघि व्यवसायिक सुन्तला खेती सुरु गरेको उनले बताएका छन् । उनी भन्छन्, ‘दुई वर्ष भयो फल दिन थालेको । गत वर्ष अलि, अलि मात्र फलेको थियो । यो वर्षचाँहि प्रतिबोट १५ देखी २० केजीसम्म फलेको छ ।’ सुन्तला स्थानीय स्तरमा नै बिक्री वितरण गरेको कोरिङ कृषिक समूहका अध्यक्ष लक्ष्मण घलेले बताएका छन् । ‘अहिले सुरुवाती चरण भएर पनि होला उत्पादन धेरै छैन । सबै सुन्तला गाउँघरमै बेचेका छौँ’, उनले भने । समूहले प्रतिकेजी १०० रुपैँयाका दरले सुन्तला बिक्री गर्दै आएको घलेको भनाइ छ ।
काशीगाउँको सुन्तला अन्य ठाउँको तुलनामा गुणस्तरीय रहेको धार्चे गाउँपालिकाको कृषि प्राविधिक जगत अधिकारीले बताएका छन् । पालिकाले सुन्तला कृषकहरुले प्राविधिक सहयोग गर्दै आएको उनको भनाइ छ ।




