| सोमवार, कार्तिक २३, २०८३

घाइते हिमाली गिद्धलाई बासस्थानमै छाडियो

घाइते अवस्थामा भेटिएको सेतो हिमाली गिद्धलाई उसकै बासस्थानमा छाडिएको छ । मंगलबार साँझ चुमनुब्री ३ भालुवन आसपासको जंगलमा भेटिएको घाइते वयस्क गिद्धलाई उद्धार गरी बुधबार बासस्थानमै छाडिएको मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)का संरक्षण अधिकृत भुवन ओझाले जानकारी दिए ।

संकटग्रस्तको सूचीमा रहेको सेतो हिमाली गिद्ध पँखेटा चलाउन नसक्ने घाइते अबस्थामा स्थानीयले फेला पारेर प्रहरी चौकी जगत तथा एमक्यापको जगत चेकपोस्टलाई बुझाएका थिए । ‘स्थानीयबासीले फेला पार्दा उँड्न, चल्न चल्मलाउन नसक्ने अबस्था थियो । हाम्रा विशेषज्ञहरुले उपचार गरेपछि बुधबार दिउसोसम्म सामान्य अबस्थामा आयो’, उनले भने, ‘अनि साँझतिर नजिकैको जंगलमा लगेर उँडाइयो । राम्ररी नै उँडेर गयो । अब बाँच्छ भन्ने निश्चित भयो ।’

हिमाली सेतो भल्चर जाडो बढ्दै गएपछि तिब्बती क्षेत्रबाट तथा हिमाली क्षेत्रबाट बसाइँ सर्दै तल्लो भेगतिर झर्ने गर्छन् । सोही झर्ने क्रममा खानेकुराको अभाव तथा भीर पहरामा ठोक्किएर बिरामी तथा घाइते हुनसक्ने अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघका गिद्ध विज्ञ समूहका सदस्य कृष्ण भुसालको भनाइ छ ।

‘यो प्रजातिको गिद्धलाई संकटग्रस्तभित्र राखिएको छ’, उनले भने, ‘यिनीहरु जाडो छल्न तिब्बती तथा नेपालकै हिमाली क्षेत्रबाट तल्लो क्षेत्रतर्फ बसाइँ सर्छन् । त्यतिबेला आहारा नपाएर बिरामी पर्न सक्छन्, कि त, कुनै संरचनाहरुमा ठोक्किएर घाइते हुन्छन् ।’ हिमाली भल्चर नेपालमा करिब १० हजारको संख्यामा रहेको अनुमान गर्न सकिने उनको गिद्ध विज्ञ भुसालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्