| सोमवार, कार्तिक २३, २०८३

गोरखा महोत्सवको गरिमा नगुमोस्

ऐतिहासिक नगरी गोरखाको हरमटारी खेलकुद मैदानमा अहिले गोरखा महोत्सव चलिरहेको छ । नेपाल भ्रमणबर्ष २०५४ सालदेखि आयोजना गर्न थालिएको गोरखा महोत्सवको यो १२ औं श्रृङ्खला हो ।

परम्परागत रूपमा मेला र महोत्सवको आयोजना स्थानीय कला, संस्कृति, भेषभूषाको संरक्षण गर्ने, स्थानीय उत्पादनको बजारीकरण गर्ने र नागरिकलाई स्वस्थ मनोरञ्जन प्रदान गर्ने उद्देश्यले गरिन्छ । तर, पछिल्लो समय देशभर आयोजना हुने यस्ता महोत्सवहरू आफ्नो मूल मर्मबाट विमुख हुँदै गएको आभास हुन थालेको छ । गोरखा महोत्सव पनि यसै प्रवृत्तिको छायाँमा परेको त छैन भन्ने गम्भीर प्रश्न उब्जिएको छ ।

सामान्यतया मेलाको अर्थ मानिसहरू भेला हुनु, खुसी साँटासाँट गर्नु र स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउनु हो । तर, अचेल महोत्सवहरू आयोजना गर्ने संस्थाहरूले आफैं व्यवस्थापन गर्नुको साँटो ठूला ठेकेदार कम्पनीहरूलाई जिम्मा दिने चलन बढेको छ । आयोजकले निश्चित रकम लिएर ठेकेदारलाई मेला सुम्पिने र ठेकेदारले उक्त लगानी उठाउन जात्रु तथा स्टल राख्नेहरु, बालउद्यान राख्नेहरुबाट चर्को शुल्क असुल्ने विकृति बढ्दो छ । यसले महोत्सवलाई सेवामुखी भन्दा बढी नाफामुखी बनाएको छ ।

ठेकेदारले आयोजकलाई बुझाएको मोटो रकम उठाउन टिकट र पसलका स्टलहरूको भाडा अत्यधिक बढाउँछन्, जसको प्रत्यक्ष भार सर्वसाधारण दर्शकहरुमा पर्छ । लक्ष्य त स्थानीय डोको, डालो, नाम्लो, कृषिजन्य सामग्री वा हस्तकलाका सामग्रीले ठाउँ पाउनु पर्ने हो तर स्टलहरुमा कृषि उत्पादन कम र बाह्य बजारका प्लास्टिकका सामान, फेन्सी र तयारी सामग्रीहरूको वर्चस्व देखिन्छ ।

कला र संस्कृतिको प्रवद्र्धन भन्दा पनि दर्शक तान्नका लागि गरिने केही उच्छृङ्खल गतिविधि र सस्तो लोकप्रियता कमाउने हर्कत गर्ने कलाकार भित्र्याउने गर्छन् । महोत्सवहरू केवल आर्थिक लाभ लिने माध्यम मात्र बन्नु हुँदैन । आयोजक संस्थाहरूले व्यापारिक कम्पनीलाई ठेक्का दिएर जिम्मेवारीबाट पन्छिनु भन्दा आफैं सक्रिय भएर स्थानीय व्यवसायी र उपभोक्ताको हितमा काम गर्नुपर्छ ।

गोरखा महोत्सव एउटा गरिमामय इतिहास बोकेको महोत्सव हो । यसको गरिमालाई गुमाउने होइन, जाज्वल्यमान राख्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्