
यी हुन् गोरखाका समानुपातिकतर्फका उम्मेदवारहरु
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरुले समानुपातिक उम्मेदवारहरुको नामावली निर्वाचन आयोगमा बुझाएका छन् । निर्वाचनका लागि आइतवार र सोमवार समानुपातिकको बन्दसूची बुझाउनुपर्ने समय थियो । सोही अनुसार ६४ वटा दलले समानुपातिक तर्फको बन्दसूची पेस गरेका हुन् । दलहरुले बुझाएको बन्दसूचीमा गोरखाबाट पनि केही उम्मेदवारहरुको नाम रहेको छ ।
नेकपा एमालेबाट मिना बराम समानुपातिकतर्फको उम्मेदवार बनेकी छन् । आरुघाट गाउँपालिका वडा नम्वर १० की उनी समावेशीतर्फको एक नम्वर सूचीमा छिन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी आरुघाट गाउँपालिकाको उपाध्यक्षमा लडेकी थिइन्, तर पराजित भइन् । उनी हाल पार्टीको प्रदेश कमिटी सदस्य हुन् । यसअघिको निर्वाचनमा पनि समानुपातिकतर्फको सूचीमा उनको नाम समावेश थियो ।
नेपाली कांग्रेसबाट जगतबहादुर बराम समानुपातिकतर्फको उम्मेदवार बनेका छन् । २०३८ सालमा भीमसेन थापा गाउँपालिका–१ मसेलमा जन्मेका उनी बिद्यार्थी राजनीतिमा पनि संक्रिय थिए । २०५५ सालमा उनले बिन्द्रावती मावि मसेलमा स्कुल इकाइ सहसचिव भएर काम गरे । २०६२ सालमा शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टीको गाउँ सभापति बने ।
देउवा र गिरिजाप्रसाद कोइराला नेतृत्वको पार्टी एकतासँगै बराम आमन्त्रित जिल्ला सदस्य भए । उनी २०६७, २०७२ र २०७८ मा पार्टी महाधिवेशन प्रतिनिधि समेत बनिसकेका छन् । हाल उनी कांग्रेस निकट लोकतन्त्रबादी आदिवासी जनजाती महासंघको महामन्त्रीको रुपमा कार्यरत छन् ।
नेपाली कम्युनिस्ट पार्टी माओवादीको तर्फबाट गोरखाकी कमल नहर्की समानुपातिकतर्फको उम्मेदवार बनेकी छन् । उनी २०७२ सालको निर्वाचनमा गोरखा क्षेत्र नम्वर २ को प्रदेश क बाट चुनाव लडेकी थिइन् । नयाँ शक्तिका उम्मेदवार हरिशरण आचार्यसँग उनी ३ हजार २७८ मतान्तरले पराजित भइन् ।
२०३८ सालमा गोरखा नगरपालिका–१४ देउरालीमा जन्मेकी उनी आठ कक्षा पढ्दादेखि नै अखिल क्रान्तिकारीको सदस्यता लिएर राजनितिमा होमिएकी हुन् । २०५४ सालमा महिला संगठनमा आवद्ध भइन् । बिद्यार्थी संगठन हुदै २०५५ सालमा उनी पार्टीको पूर्णकालिन कार्यकर्ता बनिन् । तत्कालिन द्धन्द्धको समयमा भूमिगत हुदाँ उनी २०५६ सालमा गाँइखुरबाट पक्राउ परिन् । तर २०५७ सालमा जेल तोडेर भाग्न सफल भइन् ।
उनी पार्टीको एरिया सदस्य हुदै, जिल्ला सदस्य, उपव्युरो सदस्य र व्युरो सदस्य भइन् । नहर्कीले जनमुक्ति सेनामा इन्चार्ज हुदै बटालियन कमिसार र बिग्रेड कमाण्डरको रुपमा पनि काम गरिन् । अहिले उनी पार्टीको केन्द्रीय सदस्य हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट एजिला गुरुङ समानुपातिकतर्फको उम्मेदवार बनेकी छन् । उत्तरी गोरखाको धार्चे गाउँपालिकास्थित केरौजामा जन्मेकी उनी २०७९ सालको निर्वाचनमा पनि समानुपातिक उम्मेदवारको सूचिमा थिइन् । हाल उनी पार्टीको केन्द्रीय सदस्य हुन् ।
२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिकतर्फ निर्वाचित हुन्छन् भने १६५ जना प्रत्यक्ष निर्वाचित हुन्छन् । प्रत्यक्षतर्फका उम्मेदवारहरुको नाम जिल्लाका दलहरुले सिफारिस गरेर केन्द्रमा पठाइसकेका छन् । नेपाली कांग्रेसले गोरखा क्षेत्र नम्वर १ बाट भूगोल थापा, राजेन्द्र बजगाई, युवराज बस्ताकोटी, डिल्लिराम तिमिल्सिना, जनाद्र्धन अर्याल, पूर्णबहादुर दाहाल, जानुका पन्त, प्रेमकुमार खत्री, चिनकाजी श्रेष्ठ, रचन परियार र इश्वर ढकालको नाम सिफारिस गरेको छ ।
क्षेत्र नम्वर २ मा प्रकाशचन्द्र दवाडी, दिपकबाबु कडेल, नवीन श्रेष्ठ, बेदप्रसाद काप्री, ओमबहादुर गुरुङ, फणिन्द्र धिताल र मोहनप्रसाद पोखरेलको नाम सिफारिस भएको कांग्रेस जिल्ला सचिव किशोरजंग थापाले बताए । राष्ट्रिय सभा सदस्यमा भने पिताम्वर बडु, अब्दुल सतार र हरि घलेको नाम सिफारिस भएको उनले जानकारी दिए ।
नेपाली कम्युनिस्ट पार्टी माओवादीबाट प्रत्यक्षतर्फ गोरखा क्षेत्र नम्वर १ मा पुष्पकमल दाहाल प्रचण्ड, हरिराज अधिकारी, जगन्नाथ खनाल, शोभा लामिछाने, सागर श्रेष्ठ र रामप्रसाद भन्तनाको नाम सिफारिस भएको छ । पार्टी जिल्ला बैठकले उक्त नाम सिफारिस गरेर पठाएको हो ।
त्यस्तै क्षेत्र नम्वर २ बाट नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, लेखनाथ न्यौपाने, सानुमाया बस्नेत, अनिष अर्याल र हरेराम पराजुलीको नाम सिफारिस भएको पार्टी जिल्ला सचिव अंकुर तिमल्सिना आयामले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्षतर्फ गोरखा क्षेत्र नम्वर १ मा सुवर्ण रोकाय क्षेत्री र क्षेत्र नम्वर २ मा कविन्द्र बुर्लाकोटीको नाम चर्चामा रहेको बताइएको छ ।
नेकपा एमालले भने यही पुस १९ गते टुंगो लगाउने बताएको छ । ‘१८ गते पार्टीका दुवै निर्वाचन क्षेत्रको बैठक छ,’ जिल्ला पार्टी सचिव काजिराम रोकाले भने, ‘त्यो बैठकले नाम फाइनल गरेर सिफारिस गर्छाै ।’




