
१२ औं गोरखा महोत्सव सुरु
१२ औं गोरखा महोत्सव सोमबारबाट सुरु भएको छ । गोरखा उद्योग वाणिज्य संघद्वारा आयोजना गरिएको महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहका बीच उद्घाटन गरेका हुन् । सदरमुकामको हरमटारी खेल मैदानमा सुरु भएको महोत्सव यही पुस २८ गतेसम्म संचालन हुने संघका कार्यालय सचिव दिपेन्द्र श्रेष्ठले बताएका छन् ।
नेपाली सेनाका राजन रोकायले जिते ‘म्यान अफ दि गोरखा’को उपाधि
महोत्सवकै अवसरमा सोमवार बिहान आयोजित म्यान अफ दि गोरखा दौडको उपाधि नेपाली सेनाअन्तरगत त्रिभुवन आर्मी क्लवका राजन रोकायले जितेका छन् । सोमबार गोरखा उद्योग वाणिज्य संघले आयोजना गरेको ‘म्यान अफ दि गोरखा’ दौड प्रतियोगितामा रोकायले प्रथम स्थान हासिल गरेर उक्त उपाधि जितेका हुन् ।
उनले रु ३० हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकको भनाइ छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लवका गणेश रावल दोस्रो बनेका छन् भने सोही क्लवका टंकबहादुर कार्कीले तेस्रो स्थान हासिल गरेका छन् । यस्तै, नेपाल प्रहरी एकेडेमीका सन्तोष नाथ योगीले सान्त्वना स्थान हासिल गरेको उद्योग वाणिज्य संघ गोरखाका सदस्य एवं म्यान अफ दि गोरखा दौड प्रतियोगिताका संयोजक शरण श्रेष्ठले बताए ।
दोस्रो, तेस्रो र सान्त्वना हुनेहरुले क्रमश रु २० हजार, १० हजार र ५ हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको उनले जानकारी दिए । प्रतियोगितामा सहभागिता जनाएकी एक मात्र महिला प्रतिश्पर्धी सशस्त्र प्रहरी बलकी आश्मा विकलाई पनि रु २ हजार नगद पुरस्कारले सम्मान गरिएको श्रेष्ठको भनाई छ ।
गोरखा नगरपालिका वडा नं ५ पस्लाङ्गस्थित द्रव्यशाह चौताराबाट गोरखा दरबारको हनुमान भञ्ज्याङसम्म दौड प्रतियोगिता भएको थियो । प्रतियोगितामा करिब ५० जनाले सहभागिता जनाएका थिए । आयोजक गोरखा उद्योग वाणिज्य संघले १२ औं गोरखा महोत्सव एवं गण्डकी प्रदेश स्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाको अवसरमा उक्त प्रतियोगिता गरेको हो ।
महोत्सव अवधिभर जिल्लामा उत्पादित घरेलु उत्पादनरुको प्रर्दशनी गरिने आयोजक गोरखा उद्योग वाणिज्य संघले जनाएको छ । यस्तै, मेलामा स्थानिय तथा राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुती रहने सचिव दिपेन्द्र श्रेष्ठ बताउँछन् । मेलामा १०३ वटा स्टलहरु राखिएको उनको भनाइ छ । ‘जसमध्य २० वटा स्टल महिला तथा घरेलु कृषिको लागि र रैथाने खानाको लागि १० वटा स्टल अहिले नै छुट्टाइएको छ । बाँकीमा सजावट लगायत दैनिक उपभोग्य वस्तुहरुको स्टल हुने छ’, उनले भने ।
मेला अवधिभर जिल्ला भित्रका विभिन्न पालिकाहरुको झाँकी, रतौली, विद्यालय स्तरिय नृत्य प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, डोरी तान्ने खेल, पञ्चेबाजा, लाखे तथा भजन, साँस्कृतिक झाँकी ¥यालीको प्रतियोगिता आयोजना हुने श्रेष्ठले बताएका छन् । संघले जिल्लाका सबै स्थानिय तहहरुमा सक्रिय कृषकहरुबाट उत्पादित कृषिजन्य उपज प्रर्दशनीको लागि सहयोग गर्न आह्वान समेत गरेको छ ।
संघका अध्यक्ष मास्केको अध्यक्षतामा भएको कार्यक्रममा उवासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचन, उवासंघ वाग्मती प्रदेश अध्यक्ष, गोरखा नगरपालिका मेयर कृष्ण राना मगर लगायतले मन्तव्य राखेका थिए ।




