
गोरखाको हुलाक कार्यालय देशकै सर्वोत्कृष्ट
प्रतीक्षा आले ।
प्रविधिमैत्री, पारदर्शी, विश्वासनीय तथा द्रुत सेवा सञ्चालनमा अग्रणी स्थान हाँसिल गर्दै गोरखा जिल्ला हुलाक कार्यालय देशकै उत्कृष्ट बन्न सफल भएको छ । हुलाक विभागद्वारा लागु गरिएका विभिन्न मापदण्ड सबैभन्दा पहिले पूरा गरी जिल्ला हुलाक कार्यालय गोरखा सर्वोत्कृष्ट बन्न सफल भएको हो ।
यहाँको हुलाक कार्यालयले जिल्लाका सबै कर्मचारीलाई कम्प्युटर, इन्टरनेट तथा सवारी चालक प्रशिक्षण दिएर आधुनिक ‘प्रविधिमा पोख्त’ बनाउन सफल भएको छ । ‘जिल्ला हुलाक र पालिका हुलाक कार्यालयमा गरी जिल्लामा ६५ जना हुलाक कर्मचारीहरु हुनुहुन्छ’, कार्यालय प्रमुख विनोदप्रसाद गैरे भन्छन्, ‘६५ जनामध्य ५० बर्षभन्दा कम उमेरका सबैलाई कम्प्युटर, इन्टरनेट तालिम र मोटरसाइकल तथा स्कुटर ड्राइभिङ तालिम दिएर प्रविधिमैत्री बनाइसक्यौँ । ५० बर्षभन्दा बढि उमेरका पनि इच्छुकलाई तालिम दिएर दक्ष बनाएका छौँ । हाम्रा सबै कर्मचारीहरुले आफूले गरेको काम अनलाइनमा अपलोड गर्न सक्नुहुन्छ ।’
बिगत दुईबर्षदेखि सुरु गरेको कम्प्युटर, इन्टरनेट तथा सवारी चालक प्रशिक्षण तालिम सबै कर्मचारीले प्राप्त गरिसकेका उनले बताए । कम्प्युटर, इन्टरनेट, अनलाईन तालिम प्राप्त गरी गोरखा जिल्ला हुलाकले पोस्टल इन्टर्नल प्याकिङ सिस्टम (पिआईपिएस) प्रणाली लागु गर्न सफल भएको छ ।
यो प्रणाली लागु गर्ने आफूहरु देशकै पहिलो जिल्ला रहेको गैरेले जानकारी दिए । कार्यालयले जिल्लाको ११ वटै पालिकाहरुमा पिआईपिएस प्रणाली कार्यान्वयन गरेको छ । ‘अब गोरखा जिल्ला हुलाक तथा ११ वटै पालिका हुलाक कार्यालयमा दर्ता गरिएको चिठी तथा पार्सल कहाँ पुग्यो भनेर मोबाइलबाटै ट्रयाकिङ गरेर हेर्न सकिन्छ’, उनले भने, ‘यो अभ्यासले देशकै हुलाक सेवाको गरिमा बढाएको छ ।’ यसले हुलाकप्रतिको विश्वासनीयता, पारदर्शिता बढाएको उनको भनाइ छ ।
त्यस्तै जिल्लाभरि सवारी साधनबाट डाँक सेवा सञ्चालन गरेर ‘द्रुत हुलाक सेवा’ सञ्चालन गर्न सफल भएको कार्यालय प्रमुख गैरेले बताएका छन् । उनका अनुसार अहिले जिल्लाको पालुङ्टार, जौबारी, भच्चेक, आरुघाट र घैरुङसम्म नियमित बसबाट डाँक बोक्ने सेवा सञ्चालन गरिएको छ । यसरी द्रुत सेवा सञ्चालन गरेर गोरखा जिल्ला हुलाक कार्यालयले देशभरकै उत्कृष्ट सेवा दिन सफल भएकोमा कार्यालय प्रमुख गैरेले खुशी व्यक्त गरे ।




