
गोरखा महोत्सवको तयारी तिव्र
१२ औं गोरखा महोत्सव एवं गण्डकी प्रदेश स्तरिय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाको तयारीले तिव्र गति लिएको छ । गोरखा उद्योग वाणिज्य संघ गोरखाको आयोजनामा यहि पुस १४ गतेदेखी २८ गतेसम्म संचालन हुने महोत्सवको ७५ प्रतिशत तयारी पूरा भएको संघका सचिव दिपेन्द्र श्रेष्ठले बताए ।
महोत्सव सदरमुकामको हरमटारी खेल मैदानमा संचालन हुने उनले जानकारी दिए । उनका अनुसार महोत्सवमा जिल्लामा उत्पादित घरेलु उत्पादनरुको प्रर्दशनी गरिने छ । यस्तै, मेलामा स्थानिय तथा राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुती रहने उनी बताउँछन् ।
मेलामा करिब १०० वटा स्टलहरु राखिने उनको भनाई छ । ‘जसमध्य २० वटा स्टल महिला तथा घरेलु कृषिको लागि र रैथाने खानाको लागि १० वटा स्टल अहिले नै छुट्टाइएको छ । बाँकीमा सजावट लगायत दैनिक उपभोग्य वस्तुहरुको स्टल हुने छ’, उनले भने ।
मेला अवधिभर जिल्ला भित्रका विभिन्न पालिकाहरुको झाँकी, रतौली, विद्यालय स्तरिय नृत्य प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, डोरी तान्ने खेल, पञ्चेबाजा, लाखे तथा भजन, साँस्कृतिक झाँकी ¥यालिको प्रतियोगिता आयोजना हुने उद्योग वाणिज्य संघका सचिव दिपेन्द्र श्रेष्ठले बताएका छन् । उनी भन्छन्, ‘हाल स्टल निर्माण सम्पन्न भैसकेको छ । बारबन्देजको ५० प्रतिशत काम पुरा भैसक्यो । यस्तै, स्टेज निर्माण र प्रचार प्रसारको काम भैरहेको छ ।’
संघले जिल्लाका सबै स्थानिय तहहरुमा सक्रिय कृषकहरुबाट उत्पादित कृषिजन्य उपज प्रर्दशनीको लागि सहयोग गर्न आह्वान समेत गरेको छ । महोत्सवको समुद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने आयोजकको भनाई छ ।




