
योजनाहरु लोकप्रियतावादी भन्दा प्रायोगिक बनुन्
जात्ति मान्छेको स्वभाव सादा जीवन बिताउने, साधारण पोशाक लगाउने, कम बोल्ने, नम्र रहने, लक्ष्य पछ्याउने, दयावान रहने हुन्छ । तर अहिले सरलता, सरसता भन्दा सबैतिर, सबैमा, सबै कुरामा लोकप्रियतावाद हावी भइरहेको छ । व्यक्तित्व पनि सरल, व्यावहारिक भन्दा स्टण्टबाजमा जोड दिने प्रवृत्ति हावी भइरहेको छ ।
संघ, प्रदेश तथा स्थानीय तहका नेतृत्वमा रहनेहरुको योजना तथा कार्यक्रम पनि व्यावहारिकभन्दा लोकप्रियतावादी(पपुलिस्ट) हुने गरेका छन् । बेलगाम पपुलिस्ट कार्यक्रम घोषणा गर्ने, ताली पिट्ने, पिटाउने अनि लोकप्रियताको सिँडी चढ्ने प्रवृत्ति अहिले हावी भइरहेको छ । निरन्तरता र दीगोपन त परको कुरा, तर व्यावहारशून्य छ ।
दैनिक जीवनचर्या पनि व्यावहारिक, स्वभाविक भन्दा ढोंगी खालको गर्ने, सानातिना कामलाई पनि मिडियाबाजी गर्ने प्रवृत्ति हावी भएका छन् । ललितपुरको विकासको गतिभन्दा काठमाडौंको विकासको शैलीको चर्चा हुने यसकै कारण हो ।
गोरखाका पनि कतिपय पालिकाका नेतृत्वहरुले मिहिन ढंगले आवश्यकता पहिचान गर्ने, त्यसको प्राथमिकीकरण गर्ने, त्यसलाई निरन्तर फलोअप गर्ने, निश्कर्षमा पु¥याउने खालका कार्यक्रम गर्नुपर्नेमा टापटिपे कार्यक्रम गर्ने, मेची–महाकालीका कार्यक्रमको देखासिकी गर्ने, जुन यहाँ टिक्छ वा टिक्दैन अध्ययन नगरी कार्यक्रम घोषणा गर्ने त्यसको फलोअप नगर्ने प्रवृत्ति हावी छ ।
गोरखाका कतिपय पालिकाका नेतृत्वहरु अघिल्लो कार्यकालमा यस्तै कार्यशैली देखाए र बिदा भए । उनीहरुका त्यस्त बेतुकका कार्यक्रम अहिले कुन टोकरीमा पुगे, खोजबिन पनि गर्न आवश्यक देखिएको छैन । अहिले पनि त्यस्ता छेउ न टुप्पाका कार्यक्रम घोषणा गर्नेहरु देखिएका छन् । त्यस्ता बेतुकका कार्यक्रम घोषणा भएका समाचारहरु आइरहेका छन् ।
बेलगाम घोषणा भएका लोकप्रियतावादी कार्यक्रमलाई जनस्तरबाट पनि समीक्षा गर्नुपर्छ । टिका टिप्पणी गर्नुपर्छ ताकि आगामि कार्यक्रम व्यावहारपयोगी होउन् ।




