| सोमवार, कार्तिक २३, २०८३

गोठ, खर्क र गोठालाको अवलोकन गर्दै पालिका टोली

प्रतीक्षा आले ।
पालिकाका जनप्रतिनिधि तथा प्रशासकीय प्रमुखहरु सरकारी तथा गैरसरकारी संस्थासंग चाँजोपाँजो मिलाएर विदेश भ्रमणमा जाने गरेको देखे सुनेकै खबर हो तर, गोरखाको एक पालिकाका प्रमुख तथा प्रमुख तहका कर्मचारी लेकका खर्क, गोठ तथा चरन क्षेत्रको अवलोकन गर्न त्यसतर्फ गएको छ ।

आरुघाट गाउँपालिकाका प्रमुख राजु गुरुङ, प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठ, वडा अध्यक्षहरु गजे घले, मुरारी खनाल, इञ्जिनियर राजिव मरहट्टा, पशु विकास शाखाका प्रमुख इन्द्रहरि खनाल लगायतको टोली पालिकाको वडा नं. १ धुञ्चेतको लेक र खर्क पुगेका हुन् । मंगलबार लेक, खर्क पुगेका उनीहरु बुधबार साँझ फर्केका छन् ।

३२०० मिटर उचाइस्थित मुण्डली खर्कमा रहेका गोठहरु अवलोकन गरेको गाउँपालिकाका अध्यक्ष राजु गुरुङले जानकारी दिए । ‘मुण्डली खर्क, तिल्चेत, दिलचेत, पाङ्चेतका गोठ र गोठालाका अवस्थाहरुको अवलोकन ग¥यौं’, पालिका अध्यक्ष गुरुङले भने, ‘त्यहाँ गतबर्ष भेटेरीनरी अस्पताल तथा पशु विज्ञकेन्द्रको सहयोगमा बनेको एउटा गोठ रहेछ । यसबर्ष हामीले पनि एउटा गोठको कार्यक्रम दिएका छौँ । अरु गोठहरुचाहिँ भकारी, मान्द्रो, फलेकले बनेका गोठहरु रहेछन् । तिनीहरुलाई पनि सुधार गर्नुपर्ने देखियो ।’ यसअघि कम अध्ययन गरी दिएको दुई लाख रुपैयाँको गोठ सुधार कार्यक्रम अपुग भएको निश्कर्ष टोलीले निकालेको छ ।

गोठालाहरुको दैनिकी पनि ज्यादै कष्टकर रहेको पाएको उनले बताए । ‘गोठभन्दा चार पाँच किलोमिटर टाढा पानीको स्रोत रहेछ । त्यहाँबाट ग्यालिनमा पानी बोकेर खानुपर्ने अबस्था रहेछ’, उनले भने ‘त्यहाँका लागि पाइप दिने सरसल्लाह भएको छ । अबका दिनमा गोठको सुधार गर्ने र गोठालाहरुको दैनिक जीवनयापन सहज बनाउने उपायमा जोड दिने निश्कर्ष निकालेका छौँ ।’

उनका अनुसार अनुगमन टोलीले बुधबार गोठालाहरुलाई ६ सेट स्लिपिङ्ग व्याग पनि वितरण गरेको छ । वडा नं. १ को धुञ्चेत, तोङ्चेत, श्यामचेत, धोर्चेत, धोरत, वडा नं. २, ३ र ४ का लेकहरुमा पनि गोठ राख्ने परम्परा छ । ती क्षेत्रको विकासमा पनि कार्यक्रम बनाउने अध्यक्ष गुरुङको भनाइ छ ।

पालिकाले यसअघि गोठालाका लागि सोलार लाइट, त्रिपाल, लगायतका सामग्री पनि दिने गरेको थियो । ती लेकहरुमा स्याउ तथा किवी खेतीको सम्भावना पनि देखिएकाले किसान र गोठालालाई व्यवसायिक स्याउ तथा किवी खेतीमा लगाउन प्रेरित गर्ने पनि टोलीले निश्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्