| शुक्रबार, बैशाख १७, २०८३

गोरखामा जडिबुटीहरूको श्रोत सर्वेक्षण र दिगो संरक्षण तथा व्यापार परियोजना लागु

प्रतीक्षा आले ।
गोरखामा पाइने हिमाली जडिबुटीहरुको श्रोतको सर्वेक्षण, दिगो संरक्षण तथा व्यापार सम्बन्धी कार्यक्रम लागु भएको छ । जिल्लाका बारपाक सुलिकोट, अजिरकोट, धार्चे र चुमनुब्री गाउँपालिका गरी चार स्थानीय तहहरुमा पाँच वर्षे परियोजना संचालनमा रहेको जैविक विविधता संरक्षण र जलवायु परिवर्तन न्यूनिकरण तथा अनुकूलनमा योगदान गर्ने संस्था (एन्साब)ले जानकारी दिएको छ ।

एकबर्षअघिबाट यससम्बन्धी कार्यक्रम लागु भएको गोरखामा यो वर्षबाट हिमाली भेगका जडिबुटीहरुको स्रोत सर्वेक्षण कार्यक्रम पनि सुरु भएको हो । संस्थाले जडिबुटीमा आधारित स्थानीय उद्यमीहरुलाई पनि सहयोग गर्ने उनी बताउँछिन् । परियोजना अन्तरगत सरोकारवाला निकायहरुसँग समन्वय गरेर पालिकाहरुमा स्थानीय स्रोत व्यक्ति छनोट गरी उनीहरुलाई परिचालन समेत गरिसकेको एनसाबकी वन अधिकृत दीक्षा अधिकारीको भनाइ छ ।

‘यससम्बन्धी विभिन्न सरोकारवालाहरुलाई स्रोत सर्वेक्षण तालिमहरु पनि संचालन गरिसकेका छौँ । स्थानीय स्तरमा पनि जडिबुटी सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएका छौँ’, उनले भनिन्, ‘यो वर्षबाट भने हिमाली भेगका जडिबुटीहरुको स्रोत सर्वेक्षण पनि सुरु गर्छौँ ।’उनी भन्छिन्, ‘हाम्रो परियोजनाले विशेषगरी जटामसी, कुट्की, वन लसुन, यार्सागुम्बा, गुच्ची च्याउ, सेतक चिनी, पदमचाल, पाँचऔँले लगायत ११ वटा हिमाली जडिबुटीहरुको संरक्षण तथा दिगो व्यापारको क्षेत्रमा काम गर्छ ।’

जिल्लामा हिमाली जडिबुटीहरुको संकलन तथा बिक्री वितरणको अवस्था चुनौतीपूर्ण रहेको अधिकारीको भनाई छ । ‘स्थानीयहरुले कुन जडिबुटी के प्रयोजनका लागि प्रयोग हुन्छ र त्यसको वास्तविक मूल्य कति हो भन्ने पनि थाहा नपाई हचुवाको भरमा जडिबुटी संकलन गर्दै आएको अवस्था छ’, उनले भनिन्, ‘हामीले त्यो प्रचलन हटाउन हरेक महिना कुन जडिबुटीको बिक्री दर कति छ भन्ने सूची प्रकाशन गर्नेछौँ । जडिबुटी संकलन प्रणाली पनि व्यवस्थित बनाएर दैनिक रुपमा अपडेट पनि गर्दै जान्छौँ ।’ जडिबुटीलाई व्यवसायिकरण गरेर त्यहाँका स्थानीयहरुलाई आयआर्जनमा जोड्ने लक्ष्य एनसाब नेपालको छ ।

एन्साबले गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय गोरखा, मनासलु संरक्षण क्षेत्र, सम्पर्क कार्यालय र मनासलु संरक्षण क्षेत्र आयोजनाका कर्मचारी तथा वन उपभोक्ता महासंघको पदाधिकारीहरु गरी ३१ जनालाई तालिम दिइएको छ । तालिममा सहभागीहरुलाई हिमाली जडिबुटीहरुको पहिचान तथा स्रोत सर्वेक्षण र जडिबुटीको उपयोगिता बारे जानकारी दिइएको थियो । यस्तै, जडिबुटी सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियम संरक्षणको चुनौती, अवस्था र सम्भावनाको विषयमा पनि कार्यक्रममा छलफल भएको उनले बताएकी छिन् ।

‘जडिबुटी संरक्षणका लागि सरोकारवाला निकायसँग पर्याप्त स्रोत साधन पनि नभएको र त्यो सम्बन्धी दक्ष जनशक्ति पनि नभएको अवस्था थियो’, एन्साबकी दिक्षा अधिकारीले भनिन्, ‘त्यसैले एन्साबको ‘हिमाली जडिबुटीहरुको संरक्षण तथा दिगो व्यापार’ परियोजनाले सरोकारवाला निकायसँग समन्वय गरेर जडिबुटीको क्षेत्रमा काम गर्दै आएका छौँ ।’ संस्थाले गोरखा लगायत नेपालको २७ वटा हिमाली जिल्लाहरुमा ‘हिमाली जडिबुटीहरुको संरक्षण तथा दिगो व्यापार’ परियोजना लागु गरेको उनले बताइन् ।

एनसाबका वरिष्ठ वैज्ञानिक तथा जडिबुटी विशेषज्ञ दिपेश प्याकुरेलको अध्यक्षता एवं वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका सचिव मोहनराज काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हिमाली जडिबुटीहरुको श्रोत सर्वेक्षण, दिगो संरक्षण तथा व्यापार सम्बन्धी तालिममा विभिन्न सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरुले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्