| सोमवार, कार्तिक २३, २०८३

आरुघाटमा एकै रातमा स्वास्थ्य संस्थादेखि घरसम्म चोरी

आरुघाट गाउँपालिका–१० फुलपाती भञ्ज्याङमा एकै रातमा स्वास्थ्य संस्थादेखि घरसम्म चोरी भएको छ । सोमबार राती डाँडागाउँ आधारभूत स्वास्थ्य केन्द्र, स्थानीय रेनुका खड्काको पसल, सकुन्तला खत्री र अञ्जित बरामको घरमा चोरी भएको प्रहरीले जनाएको छ ।

स्वास्थ्य केन्द्रबाट इन्टरनेट राउटर एक थान, ब्याकअप एक थान, कैची दुई थान, झोला एक थान, फलामको कराई एक थान, दाँत माझ्ने ब्रस र मन्जन एक÷एक थान चोरी भएको प्रहरी निरीक्षक राजन लम्सालले बताए । खड्काको पसलबाट २८ वटा बियर, २ केजी कुखुराको मासु र रक्सी चोरी भएको उनले जानकारी दिए ।

त्यस्तै खत्रीको घरबाट दुई तोलाको सुनको तिलहरी, डेढ तोलाको बेरुवा रिङ र डेढ तोला चाँदीको सिक्रीको साथमा नगद दश हजार चोरी भएको प्रहरीले जनाएको छ । बरामको घरबाट पनि दश हजार नगद चोरी भएको बताइएको छ ।

घरमा कोही नभएको अवस्थामा ताला फुटाएर चोरी भएको बताउँदै चोरीमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्