| शुक्रबार, बैशाख १७, २०८३

बूढीगण्डकी जलविद्युत आयोजना क र ख बन्ने अन्तिम तयारीमा

गोरखामा बूढीगण्डकी जलविद्युत आयोजना क र ख दुई आयोजना बन्ने तयारीमा छ । १०३.०४ मेगावाट क्षमताको बूढीगण्डकी क र २२६ मेगावाट क्षमताको बूढीगण्डकी ख जलविद्युत आयोजना बन्ने तरखरमा रहेको आयोजनाका इञ्जिनियर दुर्गेश मगरले जानकारी दिए । दुवै आयोजना नौलो नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालिले प्रवद्र्धन गर्न लागेको हो ।

कम्पनीले ३१ अर्ब ३२ करोड लागतमा बूढीगण्डकी क र ५६ अर्ब ९९ करोड लागतमा बूढीगण्डकी ख आयोजना निर्माण गर्न लागेको इञ्जिनियर मगरले जानकारी दिए । बूढीगण्डकी क धार्चे ३ को लुस्याङमा बाँध बाँधेर चार किलोमिटर सुरुङबाट पानी ल्याई माछाखोलामा पावरहाउस निर्माण गर्ने योजना छ । आयोजना रन अफ द रिभर(पिआरओआर) प्रविधिको हुनेछ । १११ मिटर अग्लो सतहबाट पानी खसालेर विद्युत उत्पादन गरिने इञ्जिनियर मगरले बताए ।

सो आयोजनाको माछाखोलामा उत्पादित विद्युत १२.७ किलोमिटर ट्रान्समिसन लाइन हुँदै बूढीगण्डकी ख मा जोडिनेछ ।
२२६ मेगावाट क्षमताको बूढीगण्डकी ‘ख’ को बाँध धार्चे ७ खानीवेशीमा बाँधिनेछ । त्यहाँबाट ९.५ किलोमिटर सुरुङ हुँदै सोतीमा पावरहाउसमा विद्युत उत्पादन गरिनेछ । रन अफ द रिभर प्रविधिको सो आयोजनामा १९७.९७ मिटर अग्लो सतहबाट पानी खसालेर विद्युत उत्पादन गरिने इञ्जिनियर मगरको भनाइ छ ।

‘यी दुवै आयोजनाको इआई र पिपिए भइसकेको छ’, इञ्जिनियर मगरले भने, ‘भूकम्पअघि गरेका दुवै आयोजनाको सर्वेमा भूकम्पको प्रभावपछि भएको हेरफेरको अबस्थाबारे अहिले अन्तिम सर्वेको काम भइरहेको छ । आउँदो सुख्खायामबाट निर्माणको काम गर्ने तयारी छ ।’

यहाँ उत्पादन भएको र बूढीगण्डकी क बाट प्राप्त भएको गरी ३२९.०४ मेगावाट विद्युत १८.५ किलोमिटर टाढा धादिङको लापास्थित सव–स्टेशनमा जोडिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्