| सोमवार, कार्तिक २३, २०८३

आफ्नो क्षेत्रको पर्यटन विकास गर्नु स्थानीय तहकै जिम्मा

स्थानीय स्तरका प्राकृतिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक सम्पदाको जगेर्ना, प्रचारप्रसार गर्दै आफ्नो ठाउँको पर्यटन विकास गर्न स्थानीय सरकार नै जागरुक बन्न थालेका छन् । वुद्ध हिमाल, हिमालचुली हिमालको काखमा अवस्थित गोरखा र लम्जुङका विभिन्न गाउँपालिकाहरु मिलेर संयुक्त रुपमा वुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासमा दत्तचित्त भएका छन् ।

सो ट्रेलअन्तरगत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालिका तथा लम्जुङका दोर्दी, दूधपोखरी र मस्र्याङ्दी गाउँपालिकाहरु संयुक्त रुपमा पदमार्गमा आधारित पर्यटन विकास, प्रवद्र्धनमा जुटेका हुन् । पालिकाका प्रमुख, उपप्रमुख तथा सम्बन्धित शाखाका प्रमुखहरुले सो पदमार्गको स्तरोन्नति गरी पर्यटन पदमार्गको दीगो विकास योजना बनाउन, पदमार्गलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चीर परिचित गराउन, पर्यटन पूर्वाधार निर्माण गर्न अघि बढ्ने प्रतिवद्धता गरेका छन् ।

पालिकाहरुले पर्यटन विकासमा जागरुकता दर्शाएपछि ती पालिकाहरुलाई नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम(युएनडिपी) अन्तर्गतको दीगो पर्यटन परियोजना(एसटिपी) तथा ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल(टान)ले सहयोग गरेको छ । ती संस्थाहरुले गत बिहिबार, शुक्रबार र शनिबार तीनदिने कार्यक्रम गरी सम्बन्धित पालिकाहरुलाई पर्यटन विकासमा लाग्न प्रोत्साहित गरेको छ ।

सो ट्रेकिङ ट्रेलको प्रवद्र्धन गरी वुद्ध हिमाल, हिमचुली, मनासिरी हिमश्रृङ्खला तथा उच्च हिमतालहरुलाई समेट्दै नयाँ अन्तर्राष्ट्रिय ट्रेकिङ गन्तव्यको विकास गर्ने विश्वास लिएको छ । यसबाट स्थानीय समुदायमा आधारित दीगो पर्यटन प्रवद्र्धन गर्ने विश्वास त्यहाँका स्थानीय पालिकाहरुको छ । साथै यस क्षेत्रलाई पर्यटन हवका रुपमा विकास गर्ने, पुराना पदमार्ग, गोठालो बाटो र सांस्कृतिक रुटको पहिचान, ट्रेल सुधार, पुल, सिँडी, सुरक्षित बाटो निर्माण, फोहर व्यवस्थापन, खानेपानी, भरियाघर निर्माण, हिमताल, पास तथा जोखिमयुक्त क्षेत्रको सुरक्षा योजना तयार गर्ने पालिकाहरुको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्