
किमोलुङ फाउण्डेशनद्वारा सञ्चालित स्वास्थ्य शिविरमा ६ सय बढीले लिए सेवा
आरुघाट गाउँपालिका वडा नं १ धुन्चेतमा संचालन भएको तीनदिने किमोलुङ स्वास्थ्य शिविरमा ६ सय बढीले सेवा लिएका छन् । केही दिनअघि सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा पालिकाभित्रका ६ सय ३२ जनाले सेवा लिएका आयोजक संस्थाले जनाएको छ ।
किमोलुङ फाउण्डेशन नेपालको आयोजना तथा आरुघाट गाउँपालिकाको समन्वयमा शिविर संचालन भएको थियो । निशुल्क स्वास्थ्य शिविरमा सामान्य स्वास्थ्य परीक्षण, दाँत चेकजाँच, अकुपञ्चर, युटिपी सेवा, इसिजी सेवा, ग्याष्ट्रिक जाँच, प्रेसरको सामान्य चेकजाँच भएका किमोलुङ फाउण्डेशन नेपालका संस्थापक अध्यक्ष वाङचुक राप्तेन लामाले जानकारी दिए ।
‘२४८ जनाले दाँत चेकजाँच गराएकोमा १९९ जनाको विषेश उपचार भयो । यस्तै, ७४ जनाले दाँतको फिलिङ्ग गराए, ६२ जनाको दाँत निकालियो, २ जनाको दाँतको शल्यक्रिया भयो’, उनले भने, ‘२१ जनाले दाँतको डिसिएम गराए र ३७ जनाको दाँतको स्केलिङ्ग भयो ।’ शिविरबाट १६७ जनाले अकुपंचर सेवा लिएको उनले बताएका छन् ।
अकुपञ्चर सेवा धेरै प्रभावकारी भएको उनको भनाइ छ । ‘बोकेर ल्याएका बिरामीहरु तीनदिनसम्म अकुपञ्चर गराएपछि आफै हिँडेर घर फर्किएका थिए’, उनले भने । साथै शिविरमा बालबालिका तथा नवजात शिशुहरुलाई न्यानो कपडा वितरण गरिएको फाउण्डेशनले जनाएको छ ।
संस्थाले आरुघाट गाउँपालिका– १ मा रहेको गणेश आविका विद्यार्थीहरुलाई व्यक्तिगत सरसफाईका सामाग्रीहरु समेत वितरण गरेको छ । यसैगरी, सोही विद्यालयका छात्राहरु र स्थानीय आमा समूहहरुलाई सेनेटरी प्याड समेत वितरण गरेको किमोलुङ फाउण्डेशनले जनाएको छ ।




