
घ्याचोकमा अतिथि सत्कार, घरबास पर्यटन तथा लज व्यवस्था तालिम
जिल्लाको अजिरकोट गाउँपालिका–१ घ्याचोकमा पाँच दिने अतिथि सत्कार, घरबास पर्यटन तथा लज व्यवस्था तालिम सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) अन्तरगतको दिगो पर्यटन परियोजना तथा ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को संयुक्त आयोजना र अजिरकोट गाउँपालिकाको सहआयोजनामा मंगलबारबाट तालिम सुरु भएको हो ।
बुद्ध हिमाल हिमालचुली ग्रेट लेक सर्किट टे«लमा पर्ने मनासलु पदमार्गको बैकल्पिक नयाँ पर्यटकिय गन्तव्य बनेको घ्याचोकमा तालिम संचालन गरिएको टानका फिल्ड संयोजक सुदिप आचार्यले बताए । तालिममा अजिरकोट गाउँपालिका अन्तरगत ५ वटा वडाहरुबाट ५–५ जनाका दरले २५ जनाले सहभागिता जनाएको उनले जानकारी दिए । ‘२५ जनामध्य पनि १९ जना होमस्टे संचालन गरेर बस्नुभएको महिला दिदीबहिनी हुनुहुन्छ’, उनले भने । तालिममा सहभागिहरुलाई अजित आचार्यले सहजिकरण गराउने उनको भनाई छ ।
टानका केन्द्रिय सदस्य तथा तालिम विभागका सह–संयोजक अम्बिरबहादुर गुरुङको अध्यक्षता एवं अजिरकोटकी उपाध्यक्ष अनिता भुजेलको प्रमुख आतिथ्यतामा सम्पन्न तालिम उद्धघाटन कार्यक्रममा पालिकाको प्रमुख प्रशासकिय अधिकृत ज्ञानुराम पन्थी, अजिरकोट गाउँपालिका–१ का वडाअध्यक्ष मनोज गुरुङ, टानका निवर्तमान अध्यक्ष एवं अजिरकोट गाउँपालिकाको पर्यटन दुत धनबहादुर गुरुङ, टानकी केन्द्रिय सदस्य पवित्रा तामाङ, परियोजना संयोजक युवराज लामा लगायतको उपस्थिति रहेको थियो ।




