| सोमवार, कार्तिक २३, २०८३

ठेक्कामा सिण्डिकेट कहिलेसम्म

कुनै पनि बिकास निर्माणका ठेक्कामा जो कसैले पनि स्वच्छ र निष्पक्ष रुपमा खुल्ला प्रतिस्पर्धा गर्न पाउने सार्वजनिक खरिद ऐन र नियमावलीमा प्रष्ट उल्लेख छ । तर जिल्लाका ठेक्कामा अझै पनि सिण्डिकेट लाद्ने प्रवृति हावी देखियो, त्यो पनि निर्माण व्यवसायीहरुको छाता संस्था निर्माण व्यवसायी संघकै अगुवाइमा । यसरी ठेक्कामा सिण्डिकेट लाद्दै नाङ्गो नाँच प्रदर्शन गर्नुले संस्था आफै पनि बदनामको शिकार बनेको छ ।

गोलाप्रथाद्धारा ठेक्का भागवण्डा गरिएको प्रसँग जोडौ । संघकै अगुवाईमा जिल्लामा खुल्ने ठेक्काहरु गोलाप्रथा गरेर आफू निकटका निर्माण व्यवसायीलाई बाडेको कुरा संचार माध्यमबाट बाहिरियो । मिलेमतोमा सेटिङ गरी भागवण्डा भएको ठेक्कामा अरुले प्रतिस्पर्धा नगर्ने सहमति समेत गरेको भेटियो । आश्चर्य लाग्ने कुरा भागवण्डा गरेको ठेक्कामा कोही कसैले प्रतिस्पर्धा गर्न खोजे त्यसको प्रतिकारमा उत्रन भन्दै केही युवाहरु परिचालन समेत गरिएको खुलासा भयो ।

खुल्ला प्रतिस्पर्धा गर्न खोजेकै कारण एक निर्माण व्यवसायीमाथि कुटपिट समेत भयो । संघकै नेतृत्वमा यस्ता कार्य भएको भन्दै अहिले व्यवसायीहरुबीच पनि मत बिभाजन भएको छ । यसले संघको गरिमामाथि पनि प्रश्नचिन्ह उठेको छ । व्यवसायीको हकहितका लागि लड्ने संस्था (निर्माण व्यवसायी संघ) ले सबैलाई हेर्ने नजर र गर्ने व्यवहार समान हुनुपर्छ ।

कसैलाई पाखा र कसैलाई पाखा गर्दै व्यवसायीबीच संस्थाले गरेको भेदभाव संस्थाकै लागि हानिकारक छ । संस्थाको अस्तित्व र गरिमामा आँच ल्याउन यस्ता गतिविधी र व्यवहारले प्रश्रय दिइरहेको हुन्छ । यसबारे संस्था बेलैमा सचेत हुनु जरुरी छ ।

कुनै पनि ठेक्कामा स्वच्छ प्रतिस्पर्धा हुनुपर्छ । धाकधम्की दिएर ठेक्कालाई आफ्नो वशमा पार्न खोज्नु कानून बिपरित छ । मुडेबल र हुलहुज्जत गर्दै गुण्डा प्रवृति देखाउने र ठेक्कामा खुल्ला प्रतिस्पर्धा गर्न रोक लगाउनेमाथि कारवाही हुनुपर्छ । संघले पनि यस्ता कार्यलाई निस्तेज पार्दै खुल्ला प्रतिस्पर्धामार्फत ठेक्काका कामहरु गर्न प्रोत्साहन गर्नु आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्